© २०२३
पश्चिम नेपालको ऐतिहासिक, धार्मिक, साँस्कृतिक र पुरातात्विक महत्वका साथै पर्यटकीय विकासको प्रचुर संभावना बोकेको प्रमुख शहर हो बुटवल। पुर्वपश्चिम महेन्द्र राजमार्ग र उत्तरदक्षिण सिद्धार्थ राजमार्गको संगमस्थल, तराई र पहाडको संगमस्थल, प्राचिनकालदेखिनै प्रमुख औद्योगिक एवं व्यापारिक केन्द्र लगायतका थुप्रै उपमा र विशेषताहरुको संगमस्थल पनि हो बुटवल।
बुटवललाई समग्र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नेका लागि बुटवलले लुम्बिनीलाई समेटेर प्याकेज सहितको अभियान सञ्चालन गर्नु आवश्यक रहेको छ। बुटवलको पर्यटकीय चलायमान बढाउनका लागि पछिल्लो समय धेरै रकम समेत छुटाएर पर्यटनको विकासमा बुटवल उपमहानगरपालिकाले जोड दिएको छ। बुटवलमा रहेका ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा महत्वपूर्ण क्षेत्रहरुको प्रचारप्रसार गर्ने तथा लुम्बिनी घुम्न आएका पर्यटकहरुलाई बुटवलसम्म ल्याउने र उनीहरुलाई एक रात बुटवल बसाउने तथा देवदह, रामग्राम, कपिलवस्तु बुद्धसर्किट घुमाउन सकेमा पर्यटनको विकास हुन सक्छ।
बुटवलदेखि लुम्बिनीसम्मको सिधा बस सञ्चालनका लागि यातायात व्यवसायीहरुले पनि सहयोग गर्नु पर्ने देखिन्छ। टुर प्याकेज बनाएर लुम्बिनी घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकहरुलाई बुटवलमा आकर्षित गर्न सकिन्छ। बुटवलमा लुम्बिनी र सिद्धार्थ गरी दुईवटा केबलकार रहेका छन्। केबलकार चढ्नकै लागि पर्यटकहरु बुटवल आउन सक्छन्। बुटवल आएका पर्यटकहरु ऐतिहासिक गौरव बोकेको जितगढी, मणिमुकुन्द सेन उद्यान फूलबारी, पुरानो बटौली, त्यहाँका पुराना सम्पदाको अवलोकन गरी रामापिथेकस पार्क, सिद्धबाबा, हिलपार्क, लगायतका ठाउँमा पनि दृष्यावलोकन गराउन सकिन्छ।तेश्रो मुलुकका पर्यटकसँगै पछिल्लो समय लुम्बिनीमा भारतीय पर्यटकहरुको आगमन पनि बढिरहेको छ। प्याकेज मार्फत भारतीयहरुलाई आकर्षित गरेर पनि बुटवलले धेरै लाभ लिन सक्ने संभावना रहेको सरोकारवालाहरु बताउँछन्। बुटवलले प्याकेज बनाउँदा लुम्बिनी घुम्न आउने पर्यटकहरुको बासस्थान बुटवललाई बनाउन सक्नु पर्छ जसका लागि बुटवलमा उच्च स्तरियका साथसाथै मध्यम स्तरका होटलहरु पनि सञ्चालन गर्नु आवश्यक देखिन्छ। भारतीय पर्यटकहरुको चाहना र रुचि अनुसारका होटेल तथा रेष्टुराँहरु सञ्चालन गर्न सकेमा बुटवलका होटल व्यवसायीहरुलाई पनि राम्रै फाइदा हुनसक्छ। लुम्बिनी आएका पाहुनाहरुलाई एकपटक बुटवल जाउँ भन्ने मानसिकता बनाउन र बुटवललाई लुम्बिनीको प्रवेशद्वारको रुपमा अगाडि बढाउन पनि ‘लुम्बिनी घुमौं, बुटवल बसौं’ अभियान सञ्चालन गर्नु पर्ने देखिन्छ।
बुटवलले यसप्रकारको टुर प्याकेज बनाएर अभियान सञ्चालन गर्दा बुद्ध जन्मस्थल लुम्बिनीमा पनि चहलपहल बढ्छ। पूर्वपश्चिम महेन्द्र राजमार्गमा रहेका होटेल तथा रेष्टुराँहरु र विभिन्न उद्यान लगायत पर्यटकीय स्थलहरुलाई पनि यसको प्रत्यक्ष प्रभाव पर्दछ। पूर्वपश्चिम साथै उत्तरदक्षिण सिद्धार्थ राजमार्गको संगमस्थल समेत रहेको बुटवल पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाँची, प्यूठान लगायत दर्जनबढि पहाडी जिल्लाबाट झर्ने ठाउँ पनि हो।बुटवलले बनाएको टुर प्याकेजले पूर्वपश्चिम राजमार्ग भएर यात्रा गर्ने र पहाडी जिल्लाबाट तराई झरेकाहरुलाई पनि लुम्बिनी घुम्न जान चाहने बनाउछ। टुर प्याकेज सहित ‘घुमौं लुम्बिनी, बसौं बुटवल’ अभियान सञ्चालनको लागि बुटवलबाट लुम्बिनीसम्मका लागि अनिवार्य रुपमा पर्यटनमैत्री सिधा सार्वजनिक यातायात सञ्चालन हुनैपर्छ। बुटवलदेखि लुम्बिनीसम्मको ४२ किलोमिटरको दुरीमा अब पर्यटनमैत्री सार्वजनिक यातायात सञ्चालन गर्न यातायात व्यवसायीहरुले चासो देखाउने बेला आएको छ।
बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वका घुम्नै पर्ने ठाउँहरु मध्ये प्रमुख १० स्थान भित्र राखिएको छ। यसले लुम्बिनीको व्यापक प्रचार प्रसार गर्न मद्दत पुर्याउने विश्वास समेत गरिएको छ। प्रचार प्रसारमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरुले पनि आ–आफ्नो तरिकाले भूमिका खेल्न जरुरी छ। यसप्रकार बुटवललाई लुम्बिनीसँग जोडेर, उचित तरिकाले प्रचार प्रसार गरेर, पर्यटकलाई लोभ्याउने र भुलाउने वातावरण निर्माण गरेर, पर्यटकको बसाई लम्बाउन सकिन्छ।बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउनका लागि आफूहरु निरन्तर लागिरहेको बताए। प्रमुख पाण्डेयले भारतीय पर्यटकहरुलाई बुटवलहुँदै मुक्तिनाथसम्म पुर्याउने योजना रहेको उल्लेख गर्दै रामापिथेकश र जितगढीको प्रचार प्रसारका साथै तिनाउ किनारमा महाआरती केन्द्र बनाउने लगायतका योजना रहेको पनि जानकारी गराए। साथै बुटवलदेखि नुवाकोटसम्मको पुरानो ऐतिहासिक पैदलमार्गलाई व्यवस्थित र स्तरउन्नती गरी जीवित राख्ने प्रयास भैरहेको प्रमुख पाण्डेको भनाई छ।
बुटवल उपमहानगर कार्यालयको पर्यटन शाखासमेत हेर्ने सामाजिक विकास महाशाखा प्रमुख दामोदर ज्ञवालीले बुटवल र आसपास क्षेत्रमा पर्यटन विकास गर्न पूर्वाधार निर्माण लगायतका कार्यहरुलाई प्राथमिकता राखिएको बताए। स्थानीय संघ संस्थाहरुसँग सहकार्य गर्दै बुटवलको विकासमा स्थानीयको समेत सहभागितामा योजना तथा कार्यक्रमहरु सञ्चालन गर्न गराउन उत्प्रेरित गर्ने र आवश्यक सहयोग गर्ने गरिएको पनि महाशाखा प्रमुख ज्ञवालीले जानकारी गराए। ऐतिहासिक जीतगढी किल्लाको संरक्षण गर्दै व्यवस्थित गर्ने काम र संग्रहालय निर्माण कार्य सम्पन्न भैसकेको ज्ञवालीले बताए। यसको आन्तरिक व्यवस्थापनको कार्यका लागि आवश्यक पहल भैरहेको समेत उनले जानकारी गराए।मणिमुकुन्द सेन उद्यानका अध्यक्ष तथा अगुवा होटल व्यवसायी माधव नेपालले पछिल्लो समय भारतीय पर्यटकको आकर्षण बढेको भन्दै बुटवल पर्यटनको ट्रान्जिट हब बन्न सक्ने बताए। भारतीय पर्यटकको स्वाद, चाहना र रुचि अनुसारको व्यवस्थापन आवश्यक रहेको भन्दै नेपालले सरकारले आवश्यक नीति, योजना र कार्यक्रम ल्याएर व्यवसायीहरुलाई उत्साहित गर्नुपर्ने बताए। तिनाउ पारीको प्राचिन बटौलीलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न सकिने उल्लेख गर्दै नेपालले पर्यटन प्रवर्धनको लागि भाषण भन्दा पनि दृढसंकल्प आवश्यक भएको बताए।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले लुम्बिनीबाट नेपालका सबै पर्यटकीय स्थलहरुका लागि यातायातको सिधा सम्पर्क हुनुपर्ने बताए। एउटा पर्यटकीय क्षेत्रबाट अर्को पर्यटकीय क्षेत्रमा पुग्न सहज यातायातको व्यवस्था हुनुपर्ने कुरामा उनले जोड दिएका छन्। अध्यक्ष अर्यालले लुम्बिनी प्रदेशका सबै गन्तव्यमा पुग्न बुटवल सहज प्रस्थान बिन्दु हुने भन्दै यहाँ पर्यटकीय वातावरण निर्माण गर्नुपर्ने बताए। बुटवललाई फेरी गुल्जार बनाउन तिनै तहका सरकार बिचको समन्वय र सहकार्यसँगै निजी क्षेत्रको सहभागिता समेत आवश्यक रहेको भन्दै अध्यक्ष अर्यालले सरकारले अभिभावकत्व ग्रहण गरेमा आफूहरु सदैव सकारात्मक रहेको बताए। होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न रुपन्देही र आसपासका गन्तव्यहरुलाई समेटेर प्याकेज बनाइ अघि बढ्ने तयारीमा रहेका बताए। अध्यक्ष भण्डारीले सुस्ताएको पर्यटन क्षेत्रलाई आशा जगाउने गरी आफूहरु अघि बढेको बताउँदै बुटवललाई रात्रीकालिन बजारको रुपमा विकास गर्नुपर्ने, पर्यटन व्यवसायीका समस्या सरकारले सम्बोधन गर्नुपर्ने, बुटवलमा पर्यटन सूचना केन्द्र स्थापना हुनुपर्ने बताए।
बुटवल र लुम्बिनी एउटै जिल्लामा पर्ने दुई महत्वपूर्ण स्थानहरु भएर पनि एकअर्काका लागि लाभ लिनेदिने सन्दर्भमा परिपूरक बन्न सकिरहेका छैनन्। लुम्बिनी प्रदेशको प्रमुख शहर बुटवल र देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य लुम्बिनी रुपन्देही जिल्लामा पर्दछन्। तर दुई स्थानबीच व्यवसायिक र पर्यटकीय रुपमा सहकार्य तथा एकता अझै कायम हुन सकेको छैन। यसको मुख्य कारक तत्व भनेको बुटवलबाट लुम्बिनी पुग्न सिधा सार्वजनिक यातायात समेत छैन। अब लुम्बिनी र बुटवल एक अर्काको परिपूरक बन्न जरुरी छ। यसका लागि ‘घुमौं लुम्बिनी, बसौं बुटवल’ अभियान आवश्यक छ।