काठमाण्डाै ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी निष्कासन अभियान अन्तर्गत १,३६५ नेपाली अमेरिकाबाट निष्कासनमा पर्ने भएका छन्। अमेरिकी अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूची अनुसार, १,४४५,५४९ जना आप्रवासी निष्कासनमा पर्नेछन्, जसमा नेपाली पनि समावेश छन्।
यस अभियानमा, होन्डुरसका २,६१,६५१, ग्वाटेमाला का २,५३,४१३ र मेक्सिकोका २,५२,०४४ जना सबैभन्दा बढी निष्कासन हुनेहरू छन्। अन्य देशबाट पनि निष्कासन हुनेहरूको सूचीमा चीन (३७,९०८) र भारत (१७,९४०) पनि समावेश छन्।
अमेरिकामा ३ लाख भन्दा बढी नेपाली बासिन्दा रहेका छन्, जसमा २ लाखले ग्रीनकार्ड र झन्डै ८७ हजारले नागरिकता प्राप्त गरेका छन्। २० हजार जना विद्यार्थी र २० हजारले शरणार्थीको रूपमा आवेदन दिएका छन्। अमेरिकामा हाल १ करोड २० लाख अवैध आप्रवासी रहेका छन्, जसमा मेक्सिकोका लगभग ५० लाख, एल साल्भाडोरका ७,५०,००० र भारतका ७,२५,००० जना छन्।
डोनाल्ड ट्रम्पको प्रशासनले आप्रवासी निष्कासनको अभियानलाई तीव्र पारेको छ, जसको हिस्साका रूपमा २,६८१ जना अनधिकृत आप्रवासी पक्राउ परेका छन्। दक्षिणी सीमा क्षेत्रमा सङ्कटकाल घोषणा गरेर १५०० सैनिक तैनाथ गरिएको छ।