© २०२३
काठमाडौं, १४ माघ।
अमेरिकाबाट अवैध आप्रवासीलाई फिर्ता ल्याउन कोलम्बिया सरकार तयार भएको छ। यसअघि, अमेरिकाबाट अवैध आप्रवासीहरुलाई चढाएर पठाइएका दुई हवाईजहाजलाई कोलम्बियाले अवतरण गर्न अनुमति दिँदैन भनेको थियो। तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २५ प्रतिशत र पछि ५० प्रतिशत कर बढाउने तथा अन्य प्रतिबन्ध लगाउने धम्की दिएपछि कोलम्बिया आफ्नो निर्णयबाट पछि हटेर अवैध आप्रवासीहरुलाई फिर्ता ल्याउन तयार भएको हो।
अमेरिकी देश होन्डुरसमा हवाईजहाज पठाउन कोलम्बिया तयार भएको कुरा बीबीसीले जनाएको छ। ट्रम्पको धम्कीपछि, कोलम्बियाका राष्ट्रपति गुस्ताबो पेट्रोले सामाजिक सञ्जालमा अमेरिकाले प्रवासीहरुलाई सम्मानजनक व्यवहार नगरेको आरोप लगाएका थिए र अमेरिकी बस्तुमा २५ प्रतिशत कर बढाउने घोषणा गरेका थिए।
तर, पछि कोलम्बिया आफ्नो निर्णयबाट पछि हटेको हो। राष्ट्रपति बनेदेखि नै ट्रम्प आप्रवासीको मुद्दामा कठोर र सख्त कदम चाल्दै आएका छन् र उनले अवैध आप्रवासीलाई फिर्ता पठाउने अभियान सुरु गरेका छन्।
कोलम्बिया, अवैध रुपमा अमेरिका पुगेका आप्रवासीका सूचीमा पाँचौं स्थानमा छ। यसअघि ग्वाटेमाला, होन्डुरस, मेक्सिको र एलसाल्भाडोर छन्। केही नेपाली नागरिक पनि यिनै देशहरू हुँदै अमेरिका पुगेका छन्।
कोलम्बियाका एक लाख २७ हजार भन्दा बढी नागरिक अमेरिकामा अवैध रुपमा घुसेको आरोपमा पक्राउ परेका छन्। अमेरिकाले ती नागरिकलाई कोलम्बिया फिर्ता पठाइरहेको छ।
यस घटनामा कोलम्बियालाई प्रतिबन्ध लगाउने अमेरिकी निर्णयले व्यापार घाटामा असर पार्ने संभावना रहेको अनुमान गरिएको छ। हाल कोलम्बियासँग अमेरिकाको व्यापार घाटा १.४ बिलियन डलर रहेको छ। कोलम्बिया दैनिक २ लाख ब्यारेल कच्चा तेल अमेरिका पठाउँछ र त्यसका अतिरिक्त, अमेरिका कोलम्बियाबाट सुन, कोइला, कफी र ताजा फलफूल पनि आयात गर्दछ।