© २०२३
बुटवल, ९ माघ । सन्दीप जोराको अलराउण्ड प्रदर्शनमा भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको बुधबारको खेलमा जेआर क्रिकेट क्लब विजयी भएको छ । प्रोफेसनल माष्टर्स–११ लाई जेआरले ५ विकेटले पराजित गरेको हो ।
रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको प्रोफेसनलले ३० ओभरमा १ सय १८ रनको लक्ष्य खडा गरेको थियो । उसका लागि ड्रस सुनार र मोहम्मद हुसेनले समान २१, इमरान खानले १७, करण साहनीले १५ र अख्तर हुसेनले १४ रन बनाए । जेआरका आषिश भट्टराई र विनय जिसीले ३–३ तथा कुशल भूर्तेल, सागर गिरी, सन्दीप जोरा र विमल भुसालले समान १–१ विकेट लिए ।
मध्यम लक्ष्य पछ्याएको जेआरले २३.४ ओभरमा ५ विकेट गुमाएर जित निकाल्यो । उसको जितमा सन्दीप जोराले अर्धसतकीय पारी खेले । उनले अविजित ६२ रनको योगदान दिए । अनमोल थापाले २०, सुलभ चौधरीले नटआउट १४ र कुशल भूर्तेलले ११ रनको बनाए । प्रोफेसनलका कृष्ण पराजुली र अख्तर हुसेनले २–२ तथा करण साहनीले १ विकेट लिए । खेलमा सन्दीप जोरा प्लेयर अफ द म्याच घोषित भए ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले बताए । बिहिबार वेष्टन क्रिकेट क्लब र एमसिसि बिचमा खेल हुने छ ।