© २०२३
बुटवल, ८ माघ । रुपन्देही जारी सुपरलिग क्रिकेट प्रतियोगितामा ‘ए’ डिभिजनमा लुम्बिनी खुकुरी क्लबले जित निकालेको छ । सिद्धार्थनगरपालिकाको सहयोग तथा रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा मंगलबार भएको खेलमा खुकुरीले एमसीसीलाई ९७ रनले पराजित गर्दै जित निकालेको हो ।
खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको खुकुरीले निर्धारित ४१ ओभरको खेलमा ६ विकेट गुमाएर २ सय ३२ रनको विशाल योगफल तयार गरेको थियो । उसका लागि साहब आलमले अविजित ७२ रनको अर्धशतकीय पारी खेले । यस्तै, कसेजाद आलमले ४८, जमिर अलीले ३६, निश्चल चौधरीले २०, शंकर रानाले १५ र प्रज्वल थापाले १२ रनको योगदान गरे । एमसीसीका अब्दुल हबिब र विपिन आचार्यले समान २–२ तथा रमेश कुर्मी र अरुण पाठकले १–१ विकेट लिए ।
बिशाल लक्ष्य पछ्याएको एमसीसी ३३.१ ओभरमा १ सय ३५ रनमा समेटियो । उसका लागि विपिन आचार्यले ४१, विजय प्रजापतीले २९, रमेश कुर्मीले २३ र सन्दीप रजालीले १८ रन बनाए । कम स्कोरमा रोक्न खुकुरीका साहब आलम, सन्देश जिसी र अजयकुमार चौहानले ३–३ तथा दुर्गेश गुप्ताले १ विकेट लिए । खेलमा साहब आलम प्लेयर अफ द म्याच भए ।