© २०२३
गाजा, ६ माघ।
अन्ततः हमास र इजरायल बीच युद्धविराम आजबाट लागू हुँदैछ।
हिजो ६ घण्टा लामो इजरायली मन्त्री परिषदको बैठकमा भएको घच्चाघच्ची पछि युद्धविराम सम्झौता अनुमोदन गरिएको थियो। अब यो युद्धविराम आइतबार अर्थात आजबाट लागू हुँदैछ।
समाचार अनुसार युद्धविरामको कार्यान्वयन आइतबार बिहान ८:३० बजे सुरु हुने कतारको विदेश मन्त्रालयले जनाएको छ। कतारको विदेश मन्त्रालयका प्रवक्ताले गाजाको स्थानीय समय अनुसार आइतबार बिहान ८:३० बजेबाट गाजामा युद्धविराम सुरु हुने घोषणा गरेका छन्।
‘हामी हाम्रा भाइहरूलाई सतर्क रहन, अत्यन्त सावधानी अपनाउन र आधिकारिक स्रोतहरूबाट निर्देशनहरू पर्खन सल्लाह दिन्छौं,’ प्रवक्ता माजेद अल अन्सारीले अरबीमा सामाजिक सञ्जाल एक्समा लेखेका छन्।
हमास र इजरायल बीच युद्धविराम गराउन कतारले उल्लेखनीय भूमिका खेलेको छ। उसैको पहलमा १५ महिना लामो युद्ध रोकिन लागेको हो, जसले मध्यपूर्वमा शान्ति छाउने विश्वास व्यक्त गरिएको छ।
युद्धविराम घोषणा पछि १२२ को मृत्यु
तर, युद्धविराम भएको घोषणा पछि भएका इजरायली हमलामा परी गाजामा मृत्यु हुनेको संख्या १२२ पुगेको त्यहाँको नागरिक रक्षा मन्त्रालयले जनाएको छ।
हमास र इजरायल युद्धविराममा सहमत भएदेखि ३३ बालबालिका र ३४ महिला सहित कम्तिमा १२२ प्यालेस्टाइनी मारिएका एन्क्लेवको नागरिक रक्षा विभागले जनाएको हो।
हालसम्म ४६,८९९ प्यालेस्टाइनीको मृत्यु
गत ८ अगस्त २०२३ देखी सुरु भएको युद्धमा ४६,८९९ प्यालेस्टाइनी मारिएको अन्तिम तथ्यांक सार्वजनिक गरिएको छ।
गाजाको स्वास्थ्य मन्त्रालयले युद्धविराम अघिसम्मको अन्तिम विवरण सार्वजनिक गर्दै इजरायली आक्रमणबाट भएको दैनिक हताहतको अपडेट जारी राख्दै कुल संख्या सार्वजनिक गरेको हो।
उसको विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टाको रिपोर्टिंग अवधिलाई समेत जोडेर युद्ध सुरु भएदेखि हालसम्म मारिएका व्यक्तिहरूको संख्या २३ ले बढेर ४६,८९९ पुगेको उल्लेख छ।
बितेको २४ घण्टाको सोही अवधिमा अन्य ८३ जना घाइते भएका थिए भने युद्ध सुरु भएदेखि १,१०,७२५ गम्भीर रूपमा घाइते भएको उसले जनाएको छ।