© २०२३
बुटवल, २८ पुस । रुपन्देहीमा जारी शुद्धोधन गाउँपालिका १२ औँ फर्साटिकर कप २०८१ मा आयोजक फर्साटिकर एफसी फाईनलमा प्रवेश गरेको छ । आईतबार भएको पहिलो सेमीफाईनल खेलमा भैरव एफसी, नवलपरासीलाई पेनाल्टी शुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै फर्साटिकरले उपाधि दाबेदारी पेश गरेको हो । गोर्खा ब्वाइज र अभिषेक चर्च बिच सोमबार हुने दोस्रो सेमीफाईनलको विजेतासंग फर्साटिकरले फाईनल खेल्ने छ ।
फर्साटिकर खेलमैदानको भएको पहिलो सेमिफाईनल खेलमा फर्साटिकरका गणेश हमाल र भैरवका सजिन थापाले गोल गरेका थिए । निर्धारित समयमा १–१ गोलको बराबरी भएपनि खेल ट्राईबेकरमा धकेलिएको थियो । खेलमा दुई पेनाल्टी प्रहार रोकेका फर्साटिकरका गोलरक्षक सुभांकर जिसी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए । माघ २ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ३ लाख ५ हजार रुपैया, उपविजेताले १ लाख ५० हजार ५ रुपैयासहित कप, प्रमाणपत्रबाट पुरस्कृत हुने आर्थिक संयोजक सिद्धान्त भट्टराईले बताए ।