© २०२३
काठमाण्डौ ।
१९ वर्षमुनिको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट खेल्न मलेसिया जाने नेपाली टोलीको बिदाइ भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज काठमाण्डौमा एक कार्यक्रम आयोजना गरी टोलीलाई बिदाइ गरेको हो ।
टोलीलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका उपाध्यक्ष रोशन सिंह, क्यानका सचिव पारस खड्कालगायतका प्रतिनिधिले बिदाइ गरेका हुन् । १९ वर्षमुनिको महिला टोली भोलि दिउँसो मलेसिया प्रस्थान गर्नेछ ।
१९ वर्षमुनिको महिला टी–२० विश्वकप आउँदो १८ जनवरीदेखि २ फेब्रुअरीसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा १६ वटा टोलीलाई चार वटा समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘डी’ मा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड पनि छन् ।
नेपालले पहिलो खेलमा १८ जनवरीमा बङ्गलादेशसँग खेल्नेछ भने दोस्रो खेल जनवरी २० मा स्कटल्यान्डसँग र तेस्रो खेल जनवरी २२ मा अस्ट्रेलियासँग खेल्ने तालिका रहेको छ ।