© २०२३
नवलपरासी, २४ कात्तिक ।
जनता प्रगतिशील पार्टीका अध्यक्ष ह्दयेश त्रिपाठीले पैसाको बलमा चुनाव जित्न नसकिने बताएका छन् ।
नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रतापपुर गाउँपालिकाका विभिन्न वडाहरुको संयुक्त कोण सभालाई सम्बोधन गर्दै मुख्य प्रतिद्वन्द्वी उम्मेदवार उद्योगपति विनोद चौधरीलाई पैसाको बलमा चुनाव जित्न नसकिने बताएका हुन् । देशको हरेक आन्दोलनमा सहभागी भएको बताउँदै उने प्रवृत्तिवादी पात्रलाई स्वीकार गर्न नसकिने जिकिर गरे ।
यसपटकको निर्वाचन नलड्ने मनशाय नहुँदा नहुँदै पनि अर्बपति चौधरी जस्तो करछली गर्ने उम्मेदवार आफ्नो क्षेत्रमा आएको कारण चुनाव लड्न बाध्य भएको उनले बताए । उनले यस क्षेत्रको स्वाभिमानलाई कहिले झुक्न नदिने भन्दै आफुलाई अन्तिम पटक मतदान गरी विजयी गराउन आग्रह गरे ।
त्यस्तै अध्यक्ष त्रिपाठीले विनोद चौधरीलाई पाहुनाको रुपमा मात्र सत्कार गर्न सकिने तर विजयी गराउन नहुने उल्लेख गरे । चौधरीले विभिन्न आश्वासन देखाएर मतदातासंग भोट मागिरहेको आरोप लगाउँदै उने पैसाको भरमा उनलाई मत दिन नहुने बताए ।
यदि पैसाको भरमा यस पटक चौधरीले चुनाव जिते भने यस क्षेत्रका नागरिकले पछुताउनु पर्ने अवस्था आउने अध्यक्ष त्रिपाठीले दाबी गरे । उनले किसानको उखुको समस्या, केराखेतिको समस्या, बाढीको समस्या, बेरोजगारीको समस्यालाई मध्यनजर गर्दै आफुले यी समस्या समाधान गर्नको लागि निर्वाचनमा आएको जानकारी दिए।
त्यसैगरी प्रदेशसभा सदस्य उम्मेदवार दिपकराज शर्माले बोराको बोरा नोट लिएर आएका उम्मेदवारलाई जिताउन नहुने भन्दै इमान र स्वाभिमानीलाई ख्याल गरेर मतदान गर्न आह्वान गरे । उनले आफुपनि किसान भएकाले किसानको मुद्दा लिएर जनताको सेवा गर्ने भन्दै एकपटक जिताउन आग्रह गरे ।
त्यस्तै अध्यक्ष त्रिपाठीले घर दैलो कार्यक्रमलाई समेत जोड दिएका छन् । यसपटकको निर्वाचनमा राजनीतिक पृष्ठभूमिका त्रिपाठी र व्यापारिक पृष्ठभूमिका चौंधरीबीचको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।