Butwal Today

भुकम्प अपडेटः तिब्बतमा गएको भूकम्पमा ९५ जनाको मृत्यु, १३० जना घाइते

२३ पुष २०८१, मंगलवार
अ+
अ-

काठमाडौं, २३ पुस।

तिब्बतको सिगात्से सहरमा मङ्गलबार बिहान गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन्। चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार, ६.८ म्याग्निच्युडको भूकम्पले सिगात्से क्षेत्रको ठूलो नोक्सानी पुर्याएको हो।

स्थानीय समयअनुसार, मङ्गलबार बिहान ९ बजेर ५ मिनेटमा चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र बनाउँदै भूकम्प गएको थियो। चीनको आधिकारिक भूकम्प मापन निकाय, चाइना अर्थक्वेक नेटवर्क्स सेन्टरका अनुसार भूकम्पको गहिराइ १० किलोमिटर थियो।

यूएस जियोलोजिकल सर्भेले भने उक्त भूकम्पको मापन ७.१ म्याग्निच्युडको रहेको जनाएको छ, जबकि नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले ७.० म्याग्निच्युडको भूकम्प भएको बताएको छ।

यस भूकम्पको धक्का नेपालका विभिन्न जिल्लासँगै भुटानको थिम्पु, भारतको बिहार र बङ्गलादेशसम्म महसुस गरिएको छ।

स्थानीय प्रशासनले क्षतिको मूल्याङ्कन र उद्धार कार्य तीव्रता दियो भने, भूकम्पको कारण भएका क्षति र मानविय हताहतको संख्या अझै बढ्न सक्ने संकेत गरिएको छ।