© २०२३
वासिङ्टन डिसी, २३ पुस ।
अमेरिकामा पछिल्ला केही दिनदेखि भइरहेको बाक्लो हिमपात, चिसो हावा र हिमआँधीका कारण पाँच जनाको ज्यान गएको छ। यस कठिन मौसमका कारण सडक दुर्घटनाहरू, चिसोले कठ्याङ्ग्रिएर र अन्य घटनाहरूले जनधनको क्षति पुगेको छ।
मिसौरी राज्यमा हिमपातको समयमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कान्सासमा कार दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने, टेक्सासमा चिसोले कठ्याङ्ग्रिएर एक जना र भर्जिनियामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको ज्यान गएको बीबीसीले जनाएको छ।
अमेरिकी अधिकारीहरूले प्रभावित क्षेत्रका स्थानीयवासीहरूलाई गाडी नचलाउन र आवागमनमा सर्तक रहन आग्रह गरेका छन्। चिसो मौसमका कारण धेरै विद्यालयहरू बन्द गरिएको छ र यात्रामा अवरोध आएका छन्।
अमेरिकाका सात राज्य—मेरील्याण्ड, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, मिसौरी, केन्टकी र अर्कान्सासमा आपतकाल घोषणा गरिएको छ। यी राज्यहरूमा हिमपातका कारण विद्युत् आपूर्ति पनि अवरुद्ध भएको छ, जसले लाखौँ मानिसलाई प्रभावित बनाएको छ।
खराब मौसमका कारण दुई हजारभन्दा बढी उडानहरू रद्द भएका छन् भने झण्डै ६,५०० उडानमा ढिलाइ भएको खबर प्राप्त भएको छ। मौसमविद्हरूका अनुसार, हिमपात र चिसो हावा आगामी केही हप्तासम्म अमेरिका को केहि भागमा जारी रहन सक्ने अनुमान गरिएको छ। वासिङ्टन डिसीको मेरील्याण्ड र भर्जिनियामा ५ देखि ९ इन्चसम्म हिउँ जमेको बीबीसीले उल्लेख गरेको छ।
न्युयोर्क लगायत अन्य राज्यहरूमा पनि हिमपात र चिसो आँधीले लाखौँको जनजीवन प्रभावित बनाएको छ।