काठमाडौं।
डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया लगातार दोस्रो पटक विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। तीन दिन भित्रै सिड्नी टेष्टमा भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिका लागि दक्षिण अफ्रिकासँगको भिडन्त पक्का गरेको हो।
भारतको यो हारसँगै बोर्डर-गावस्कर ट्रफीमा ३-१ ले पराजित भएको छ र उनीहरूको टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्ने सम्भावना पनि समाप्त भएको छ। अष्ट्रेलियाले यो सिरिजमा भारतलाई १० वर्षपछि पराजित गरेको हो। अघिल्लो पटक २०१४-१५ सिजनमा कंगारु टोलीले भारतलाई हराएको थियो।
भारतले टस जितेर पहिला ब्याटिङ गर्दै १ सय ८५ रन बनाएको थियो, भने अष्ट्रेलिया १ सय ८१ रनमा अलआउट भएको थियो। यससँगै भारतले पहिलो इनिङमा ४ रनको अग्रता लिएको थियो। दोस्रो इनिङ्समा भारत १ सय ५७ रनमै समेटिएको थियो, जसपछि अष्ट्रेलियाले १ सय ६२ रनको लक्ष्य पुरा गर्यो।
भारतीय कप्तान जसप्रित बुम्राह चोटका कारण बलिङ गर्न असमर्थ थिए। अष्ट्रेलियाका स्टार ब्याट्सम्यान स्टिम स्मिथ ४ रनमा आउट भएपछि टेस्ट क्रिकेटमा १० हजार रन पुरा गर्न १ रनले चुके। उनले ९,९९९ रन बनाएका छन्। अष्ट्रेलियाका उस्मान ख्वाजाले ४१ रनमा आउट भए, जबकि ट्राभिस हेड ३४ र ब्यु वेबस्टर ३९ रनमा अविजित रहे।
यससँगै टेष्ट च्याम्पियनसिपको फाइनलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्नेछन्। खेल ११ देखि लड्समा हुनेछ। भारतीय टोली फाइनलमा पुग्नबाट रोकिएको छ भने अस्ट्रेलियाको जितले श्रीलंकाको फाइनलमा पुग्ने सम्भावना पनि समाप्त गरेको छ।