© २०२३
बुटवल, १७ पुस ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशभित्र खेल क्षेत्रको समग्र विकास गर्न प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्ने बताएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसका अवसरमा रुपन्देहीको बुटवलमा मदन भण्डारी गोल्डकप ईन्डो नेपाल रनिङ्गशिल्ड पुरुष भलिबल च्याम्पियनसीप २०८१ को उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन् । उनले खेल क्षेत्रको विकास र खेलाडीहरुको उत्साह कायम राख्न प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्ने बताए ।
‘प्रदेशभित्र सबै प्रकारको खेल क्षेत्रलाई समुचित रुपमा विकास गर्न, खेलाडीहरुमा उत्साह बढाउन र बढेको उत्साहलाई कायम राख्न प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्दछ । हामी खेल क्षेत्रको विकास गर्न तयार छौं’मुख्यमन्त्री आचार्यले भने,‘खेल पूर्वाधार, खेलाडी उत्पादन र नियमित प्रतियोगीताहरु सञ्चालन गरेर खेल क्षेत्रको विकास गर्न सकिन्छ ।’
खेलाडी उत्पादन गर्न, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा देशको नाम चिनाउन मदन भण्डारी स्पोर्टस् एकेडेमीको भूमिका मत्वपूर्ण रहेको मुख्यमन्त्री आचार्यले स्मरण गरे । ‘मदन भण्डारी स्पोर्टस् एकेडेमीको स्थापनादेखि हालसम्म खेलाडी उत्पादनका साथै खेल क्षेत्रको विकासमा थुप्रै उपलब्धी हासिल भएका छन्’उनले भने,‘यो उत्साहलाई कायम राख्दै थप रचनात्मक कामहरु गरेर अघि बढ्नुपर्ने आवश्यकता छ ।’ पुस २४ गतेसम्म चल्ने उक्त प्रतियोगितामा नेपाल र भारतका विभिन्न आठवटा समूहले प्रतिष्पर्धा गर्दैछन् ।
समूहमा मदन भण्डारी स्पोर्टस एकेडेमी, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएएफ क्लब, मणिमुकुन्द भलिबल क्लव, गुजरात स्टेट भलिबल एशोसिएशन (भारत), गलकोट भलिबल क्लब र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र रहनेछन् ।
प्रतियोगितामा प्रथम पुरस्कार ७ लाख, द्वितीय पुरस्कार ३ लाख ५० हजार, तृतीय पुरस्कार १ लाख ७५ हजार र सान्त्वना पुरस्कार १ लाख रुपैयाँ नगद तथा ट्रफी, मेडल र प्रमाणपत्र रहनेछ । उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधामा आकर्षक पुरस्कार रहेको छ ।