© २०२३
बुटवल, १७ पुस ।
आजदेखि बुटवलमा सर्वाधिक राशिको भलिबल प्रतियोगिता सुरु हुने भएको छ ।
काठमाडौँ बाहिर पहिलोपल्ट आयोजना हुन लागेको सर्वाधिक राशिको भलिबल प्रतियोगिताको तयारी पूरा भएको आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ ।
एकेडेमीले आफ्नो १६ औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको यो प्रतियोगितामा प्रथम पुरस्कार ७ लाख रुपैयाँसहित मदन भण्डारी गोल्डकप ईन्डो नेपाल रनिङ्गशिल्ड पुरुष भलिबल च्याम्पियनसिप २०८१ हुन लागेको हो ।
बुटवल रामनगर खेलमैदानमा आज पुस १७ देखि २४ गतेसम्म आयोजना हुने प्रतियोगिताको मङ्गलवार आकर्षक ट्रफी सार्वजनिक गरिएको थियो ।
‘यो स्वर्ण जलप गरिएको भलिबल इतिहासमा नै आकर्षक ट्रफी हो ।’– अध्यक्ष आचार्यले भने ।
१५ केजी तौल भएको ट्रफीले लुम्बिनी र पर्यटनलाई उजागर गर्ने उनले दाबी गरे । खेल पर्यटनलाई उजागर गर्ने गरी ट्रफीमा लुम्बिनीको अशोक स्तम्भ, मायादेवी मन्दिर र शान्ति दीप कुदिएको छ ।
क्लबद्वारा सार्वजनिक खेल तालिका अनुसार देशका विभिन्न ठाउँमा खेलाइने समग्र कार्यक्रमको औपचारिक रूपमा उद्घाटन गरिने उनले बताए । यसमा डेढ दर्जन खेलका करिब १० करोड ६० लाख रुपैयाँ खर्च हुने अनुमान रहेको छ । नवप्रतिभा र युवा खेलाडीहरू अन्तर्राष्ट्रिय स्तरमा सहभागी हुने गरी खेल प्रतियोगिता गर्न लागेको उनले बताए ।
प्रतियोगिताको टिम दर्ता, मैदान निर्माण तथा मर्मत लगायतका सम्पूर्ण तयारी पूरा गरेर अस्थायी प्याराफिटसहित आकर्षक सजावटको काम गरेको अध्यक्ष आचार्यले बताए ।
प्रतियोगिताको उपाधि विजेता टिमले नगद सात लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले नगद तीन लाख पचास हजार, तृतीय टिमले नगद एक लाख पचहत्तर हजार तथा सान्त्वना टिमले नगद एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र गर्नेछन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई पच्चिस हजार तथा विभिन्न बिधामा रूपमा पुरस्कृत गरिने छ । प्रतियोगितामा सहभागी टिमका खेलाडीहरुको आवास व्यवस्थापन आयोजकबाट गरेको । भलिबल प्रतियोगितामा १ करोड ६० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।
प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीसहित विभागीय टिम त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएएफ क्लब, मणिमुकुन्द भलिबल क्लब, भारतको गुजरात स्टेट भलिबल एशोसिएशन, गलकोट भलिबल क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र गरी नेपाल र भारतका आठ वटा टिमले प्रतिस्पर्धा गर्नेछन ।
विदेशी खेलाडीसहितको गल्कोट भलिबल क्लब सहभागी हुने उनले बताए । जसमा ४ जना इरानी खेलाडीहरू छन् । पहिलो चरणमा टिकट दर ३०० रुपैयाँ तोकिएको उनले बताए ।