© २०२३
बुटवल, २१ कात्तिक ।
बामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियानले रुपन्देही क्षेत्र नं. २ मा एमालेलाई सघाउने घोषणा गरेको छ । सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै अभियानले एमालेलाई सघाउने घोषणा गरेको हो ।
अभियानका केन्द्रीय उपाध्यक्ष महेन्द्र अर्यालले आफूहरुले देशभर उम्मेदवार हेरेर निर्वाचनमा सहयोग गर्ने निर्णय गरिरहेको भन्दै बुटवलमा विष्णु पौडेल विकासप्रेमी नेता भएकाले एमालेलाई सघाउने निर्णय लिएको जानकारी दिए ।
उनले बुटवलमा एमालेलाई सघाउने निर्णय केन्द्रीय कमिटीले गरेको भन्दै विभिन्न क्षेत्रमा उम्मेदवारका आधारमा सहयोगको नीति लिएको जानकारी दिए । रुपन्देहीमा आफूहरुको करिव २५ सय मत रहेको दावी पनि अभियानले गरेको छ ।
अभियानका केन्द्रीय उपाध्यक्ष अर्यालले एमाले उम्मेदवार विष्णु पौडेल सधैँ वाम एकताको पक्षमा लाग्ने र वामपन्थी शक्तिहरुको हितमा काम गर्ने भएकाले समर्थन गरेको जानकारी दिए । अभियानका लुम्बिनी प्रदेश इन्चार्जसमेत रहेका अर्यालले रूपन्देहीको विकासमा विष्णु पौडेलले खेलेको भूमिकाको सम्मानमा पनि यस्तो निर्णय लिएको बताए ।
आफ्नो पार्टी चुनावमा सहभागी नभएकाले अन्य क्षेत्रको विषयमा भने पछि निर्णय हुने उनले बताए । रूपन्देहीको विकासमा विष्णु पौडेलको भूमिकालाई कसैले पनि अवमूल्यन गर्न नहुने भन्दै उनले त्यसैकारण एमालेलाई सहयोग गर्ने निर्णय भएको बताए ।
कार्यक्रममा एमाले उपाध्यक्ष तथा उम्मेदवार विष्णु प्रसाद पौडेलले आफूले सबैको हित हुनेगरी साझा विकासमा जोड दिने बताएका थिए ।