© २०२३
कपिलवस्तु, २ पुस ।
लुम्बिनी देखी कपिलवस्तु सम्मको माता मायादेवी सुत्केरी मार्गमा १० जना लेडी बाईक राईडरले बाईक राईडिङ्ग गरेका छन । राजा शुद्धोधनकी महारानी मायादेवी सुत्केरी भई राजकुमार सिद्धार्थलाई लिएर राजदरबार फर्केको बाटोमा महिला बाईक राईडरको समुह (दुई पाग्रें क्विन्स) ले शान्ति यात्रा गरेका हुन । लुम्बिनीदेखि तिलौराकोटसम्मको ३९ किलोमिटर दुरीको सुत्केरी मार्गलाई नयाँ पर्यटकीय गन्तब्य बनाई प्रचारप्रसार गर्ने उद्देश्यले १० जना लेडी राईडरले यात्रा पुरा गरेका हुन । लुम्बिनीको मायादेवी मन्दिरबाट शुरु भएको यात्रा पडरिया, बिजुवा, सिसहनिया, दोहनी, अरौराकोट, निग्लिहवा, टुईनस्तुप हुदै तिलौराकोट सम्म पुगेको थियो ।
बुद्धिष्ट सर्किट डट कमको आयोजनामा उनीहरूले धुलौटे, ग्राभेल, खेत, कुलो र कालोपत्रे बाटो हुदै ४ घण्टा लगाएर करिब ३९ किमी बाटो यात्रा गरेका थिए । काठमाडौंबाट बाईक राईड गर्दै आएका उनीहरूले नयाँ कामको सुरुवात गर्न पाएका खुसी ब्यक्त गरेका छन् । माता मायादेवी सुत्केरी मार्गमा बाईक राईडिङ्ग गरेर मार्गको प्रचार प्रसार कार्यलाई प्रबद्र्धन गरेको लेडि बाईक राईडर टिमकी लिडर सोनम शाहीले बताईन । बाईक राईडिङ्गका क्रममा मार्गको दृश्य संकलन गरि डिजिटलाईज गरेर सुचना प्रबिधी मार्फत प्रचारमा सहयोग पुर्याउने लक्ष्य राखिएको उनले बताईन । “भविष्यमा अन्तर्राष्ट्रियस्तरका लेडि राईडरलाई समेत सरिक गराएर सो मार्गको प्रचारलाई बिश्वव्यापी बनाउन सहयोग गर्छौ ।” टिम लिडर शाहीले भनिन ।
लुम्बिनी विकास कोषका सद्भावना दूत तथा पर्यटन उद्यमी विक्रम पाँडेकाजीले माता मायादेवी सुत्केरी मार्गलाई तिर्थयात्रा गन्तब्यको रूपमा बिकास गर्ने योजना अनुसार सो मार्गमा लेडि बाईक राईडिङ्ग गराईएको स्पष्ट पारे । संसारका ५० करोड महिला बुद्धमार्गीको आस्थाको स्थल लुम्बिनी र कपिलवस्तु रहेको उनले बताए । लुम्बिनीमा आएका पर्यटक राजा शुद्धोधनको दरबार सम्म पुग्न नसकिरहेको अवस्थालाई मध्य नजर गरि नयाँ पर्यटकिय प्रोडक्टको रूपमा माता मायादेवी सुत्केरी मार्गलाई तिर्थयात्रा गन्तब्यको रूपमा प्रचार शुरु गरिएको परिकल्पनाकार पाँडेकाजीले बताए । “बिश्वमा माता वा छोरीको नामका तिर्थस्थलहरू नभएको सन्दर्भमा पनि माता मायादेवी सुत्केरी मार्गको प्रचार प्रसारलाई बिश्वव्यापी बनाउन सकिए र सो मार्गमा पैदलयात्रा गर्ने महिला बौद्धमार्गीलाई ३ दिनको यात्रा प्याकेज बनाउन सकिए पर्यटन र अर्थतन्त्र बिकासमा टेवा पुग्ने देखेको छु ।” उनले भने ।
माता मायादेवी सुत्केरी मार्गको परिकल्पना गरेर लुम्बिनी विकास कोषका सद्भावना दूत विक्रम पाँडेकाजीले लुम्बिनी र कपिलवस्तुको बिकासमा भुमिका खेलेको लुम्बिनी बिकास कोषका बरिष्ठ निर्देशक ज्ञानिन राईले बताए । सो रुटलाई स्थापित गराउनका लागी प्रचार प्रसार आवश्यक रहेकोमा राईले जोड् दिए । लुम्बिनी र कपिलवस्तुको पर्यटन प्रबद्र्धन गर्न माता मायादेवी सुत्केरी मार्गको बिश्वव्यापी प्रचार प्रसार आवश्यक रहेको र सञ्चार क्षेत्रले प्रचार प्रसारमा भुमिका खेल्ने लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले बताए ।