© २०२३
अर्घाखाँची, २१ कात्तिक ।
नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले मुलुक अव दुई पार्टीको सिस्टममा जाने दावी गरेका छन् । सत्तारुढ पाँचदलीय गठबन्धनप्रति टिप्पणी गर्दै उनले यो गठबन्धन चुनावसम्मका लागि मात्र भएको जिकिर गरे ।
“चुनावपछि गठबन्धन फुट्छ, फुट्ने मात्र होइन टुक्रा टुक्रा हुन्छ”–उनले भने–“चुनावपछि मुलुक ध्रुवीकरणमा जान्छ र टु पार्टी सिस्टम लागू हुन्छ ।”
अर्घाखाँचीको सन्धीखर्कमा सोमवार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै नेता रायमाझीले चुनावपछि गठबन्धनको शक्ति सन्तुलनमा समस्या आउने र फलस्वरुप गठबन्धन विभाजित हुने दावी पनि गरे ।
सत्तारुढ गठबन्धन अहिले एजेण्डाबिहीन भएको दावी गर्दै रायमाझीले भने–“एउटा पार्टीलाई मिलाउन त कति समस्या छ, चुनावपछि गठबन्धन फुट्छ ।” गठबन्धन मात्र नभई गठबन्धनभित्रका दलहरुमा पनि आन्तरिक विभाजन आउने दावी रायमाझीले गरे ।
अहिलेको पाँचदलीय गठबन्धनलाई उनले लेदो र खुदोको मिसावटका रुपमा टिप्पणी गरे । “कांग्रेस र कम्युनिष्ट छुट्याउन गाह्रो छ । अहिलेको गठबन्धन लेदो र खुदो मिसाएजस्तो छ । कांग्रेस ‘ककटेल’ जस्तो भएको छ”– रायमाझीले भने ।
विश्वमा कहीँ पनि सत्तामा बसेका दलले प्रतिपक्षलाई हराउन गठबन्धन नहुने बताउँदै उनले चुनावमा एमालेले बहुमत ल्याएर सरकार बनाउने दावी गरे । अर्घाखाँचीबाट प्रतिनिधिसभाका उम्मेदवार रायमाझीले गठबन्धनसँग कुनै एजेण्डा नभएकोे बताए । उनले अर्घाखाँचीमा भारी मतका साथ एमालेले प्रतिनिधिसमा र प्रदेशसभाको निर्वाचनमा जित निकाल्ने बताए ।
आफूले जिल्लामा समृद्ध अर्घाखाँचीको विकास गर्न ठूलो काम गरेको बताउँदै आफूले जिल्लामा १२ अर्बको विकास आयोजनाको काम गरेको बताए ।