© २०२३
गुल्मी, २० कात्तिक ।
गुल्मी जिल्ला निर्वाचन क्षेत्र नं. १ प्रदेश (२) बाट नेकपा एमालेका उम्मेदवार फर्सुराम पाण्डेले गुल्मीको विकास नयाँ भिजनका साथ गर्ने प्रतिवद्धता जनाएका छन् । उनले अहिलेसम्म परम्परागत रुपमा भैरहेको विकासले गुल्मीको आमूल परिवर्तन हुन नसकेको भन्दै आफू निर्वाचित भएपछि गुल्मीको विकासले नयाँ स्वरुप पाउने प्रतिवद्धता जनाए ।
गुल्मीको मूख्य समस्या यहाँको बेरोजगारी रहेको बताउँदै पाण्डेले अव युवाहरुलाई रोजगारीमा जोड्न ‘एग्रो आर्मी’ को परिकल्पना अनुसार अघि बढ्ने बताए । गुल्मी निर्वाचन क्षेत्र नं. १ (२) अन्तर्गत छत्रकोट गाउँपालिकाको पल्लीकोट, हुँगा, बलेटक्सार लगायतका क्षेत्रमा घरदैलो गर्दै पाण्डेले मतदातासमक्ष कृषिमा आमूल परिवर्तन ल्याउन आर्मीको संरचना जस्तै युवाहरुको अलग कृषि बटालियन खडा गरेर कृषिमा आमूल परिवर्तन ल्याउने पनि बताए ।
पाण्डेले त्यसका लागि नयाँ भिजन ल्याएका छन् । ‘ग्रामीण विकासको आधारः उत्पादन र बजार’ भन्ने नाराका साथ कृषिलाई उत्पादनसंग जोड्ने गरी प्रत्येक पालिकाका एक एकवटा उद्योगहरु स्थापना गर्ने प्रतिवद्धता उनले व्यक्त गरेका छन् ।
मतदाताहरुसंग पाण्डेले अव विगतमा जस्तो भोट माग्न आउने र जितेपछि फर्केर नआउने विगतको परम्परा तोडिने विश्वास दिलाउँदै प्रत्येक घरका एकजनालाई रोजगारीमा जोडेरै छाड्ने उल्लेख गरे ।
ग्रामिण बेरोजगारी अन्त्य आफ्नो पहिलो प्राथमिकता रहेको स्पष्ट गर्दै पाण्डेले अव युवाहरुलाई रोजगारीमा जोडेर गुल्मीको सम्मृद्धिमा योगदान दिने बताए । पाण्डेले घरदैलो गर्दैगर्दा मतदाताले अहिलेसम्म गुल्मीको विकास कछुवा गतिमा भएको भन्दै पाण्डेले ल्याएको नयाँ सोँच र भिजनको प्रशंसा गर्ने गरेका छन् ।
उनले युवालाई रोजगारी प्रदान गर्न विभिन्न सिपमूलक कार्यक्रम चलाउने प्रतिवद्धता जनाउँदै किसानले उत्पादन गरेको कृषिजन्य उत्पादन बजारको पहुँचसम्म पु¥याउने प्रतिवद्धता समेत व्यक्त गरे ।
यसैवीच गुल्मी क्षेत्र नं. १ मा नेकपा एमालेले घरदैलो अभियान चलाएको छ । उम्मेदवारहरु मतदाताको घर घरमा पुगेर जनतासामु अव गुल्मीको विकासलाई नयाँ शिराबाट माथि उठाउने प्रतिवद्धता जनाउने गरेका छन् ।