© २०२३
मिन्स्क ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोले रुस र बेलारुसबीचको सुरक्षा ग्यारेन्टीसम्बन्धी नयाँ सन्धिमा हस्ताक्षर गरेका छन्। यस सन्धिले दुई देशको साझा रक्षा र रणनीतिक सहयोगलाई थप सुदृढ गर्ने उद्देश्य राखेको छ।
पुटिनका अनुसार, यो सम्झौताले रुस र बेलारुसको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने उद्देश्यले सबै उपलब्ध शक्ति र साधन प्रयोग गर्ने प्रतिवद्धता जनाउँछ, जसमा सामरिक आणविक हतियारहरूको प्रयोगको अधिकार समेत समावेश छ। साथै, मस्कोले सामूहिक विनाशका हतियारहरू वा परम्परागत हतियारहरूको सम्भावित आक्रमणको प्रतिक्रियामा परमाणु हतियार प्रयोग गर्ने अधिकार सुरक्षित राखेको बेलारुसका नेताले बताएका छन्।
लुकाशेन्कोले नयाँ सम्झौताले दुवै देशको भौगोलिक अखण्डता र सार्वभौमसत्ता रक्षा गर्ने, र रूस र बेलारुसका नागरिकहरूको लागि शान्ति र सुरक्षा सुनिश्चित गर्ने दाबी गरेका छन्।
बैठकपछिको पत्रकार सम्मेलनमा पुटिनले, रूसको नयाँ ओरेश्निक मध्यवर्ती दूरीको ब्यालेस्टिक मिसाइल प्रणाली अर्को वर्ष बेलारुसमा तैनाथ गर्न सकिने बताए।
रुसी राष्ट्रपति पुटिन युनियन स्टेटको सर्वोच्च राज्य परिषद्को बैठकमा भाग लिन मिन्स्क पुगेका थिए।