© २०२३
तालिबानले आफ्ना देशका बालिका र महिलाप्रतिको व्यवहार यथावत् राखेको भन्दै नर्वेले अफगानिस्तानका लागि नियुक्त गरेको राजदूतलाई मान्यता नदिने घोषणा गरेको छ ।
अफगानिस्तानमा बालिका र महिलाको स्थितिमा थप कठोरता ल्याइएपछि नर्वेले सम्बन्ध कम गर्ने निर्णय गरेसँगै राजदूतलाई मान्यता नदिने भएको हो । अफगानिस्तानमा महिला तथा केटीहरूलाई १२ वर्ष उमेरपछि औपचारिक शिक्षाबाट निषेध गरिएको छ र क्रमशः सार्वजनिक ठाउँबाट विस्थापित गरिएको छ ।
नर्वेका विदेशमन्त्री एस्पेन बार्थ एइडेले अफगानिस्तानमा विशेषगरी अफगान महिला र केटीहरूलाई प्रभावित गर्ने नयाँ प्रतिबन्ध लगाइएका कारणले नर्वेले आफ्ना सम्बन्धहरू कम गर्दै लगेको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।
नर्वेले कन्सुलर मामिला, भिसा र अन्य जरुरी मामिलाहरू सम्हाल्न मात्र अफगान अधिकारीलाई स्वीकार गर्ने विज्ञप्तिमा उल्लेख छ ।