© २०२३
पाल्पा, १९ मंसिर ।
सुन्तला उत्पादनको राम्रो सम्भावना रहेको पश्चिम पाल्पामा सुन्तला महोत्सव हुने भएको छ । रैनादेवी छहरा गाउँपालिका र रिब्दिकोट गाउँपालिकाको संयुक्त आयोजनामा मङ्सिर २२ र २३ गते रैनादेवी छहराको कटौजे पानीमा महोत्सव हुन लागेको हो ।
बुधबार तानसेनमा आयोजित पत्रकार सम्मेलनमा सुन्तला महोत्सव ब्यवस्थापन समितिका संयोजक दानबहादुर कुँवरले रिब्दीकोट गाउँपालिकाले पहिलो सुन्तला महोत्सव गरेर सिकेको अनुभवलाई संगाल्दै यसपटक दुई पालिका मिलेर महोत्सव गर्न लागिएको बताए । उनले प्रथम महोत्सव गरेर किसानलाई सुन्तला खेती गर्न प्रोत्साहन र किसानले सुन्तलाको राम्रो मूल्य पाएको समेत बताए । उनले सुन्तला खेतीकै कारण २२ परिवार मैनादीबाट हुन लागेको बसाइसराइ रोकिएको समेत बताए ।
कार्यक्रममा रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मांगद भट्टराईले कृषिबाटै बसाइसराइ रोक्न सकिन्छ कि भन्ने प्रयास गरेको बताए । “महोत्सवमा किसानलाई तालिम प्रशिक्षण रोग किराको बारेमा जानकारी दिइने छ”–अध्यक्ष भट्टराईले भने ।
रिब्दिकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले पहाडी जिल्ला भएकाले यहाँ सुन्तला खेतीको व्यापक सम्भावना भएकाले ठुलो ठुलो बगैचा निर्माण गर्ने गरी तयारी समेत गरिएको बताए ।
महोत्सवमा ३० ओटा स्टल हुने छन् । साथै सुन्तलाबाट बन्ने विभिन्न वस्तुको प्रदर्शनी समेत गरिने आयोजकले जनाएका छन् । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको समेत सहभागिता रहने आयोजक पक्षले जनाएको छ ।
यस क्षेत्रबाट सुन्ताल बेचेर किसानले वार्षिक ११ करोड बराबरको आम्दानी किसानले गर्दै आएका छन् ।