© २०२३
कपिलवस्तु (न्युज बुटवल टुडे) १७ मंसिर
कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका–१ को वडाध्यक्ष पदको उपनिर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ३ हजार ३ सय ७९ जनाले मतदान गरेको निर्वाचनमा अशोक कुमार राई नेतृत्वको जनता समाजवादी पार्टीका उमेदवार रमेश कुमार पाण्डेय सहित स्वतन्त्र उमेदवारहरु पुजारी थारु, अब्दुल मुृयिद मुसलमान र सर्वजित मल्लाहले शुन्य मत पाए । जसपा पार्टीको चुनाव चिन्ह गोलाकार भित्रको मुठ्ठीबाट लडेका पाण्डेय सहित चार जनाले आफ्नै मत नपाएको देखिएको छ ।
वडा अध्यक्षको चुनावमा एमालेका मोहम्मद ताहिर मुसलमान विजयी भएका छन् । उनले १ हजार १ सय ५० मत पाएर विजयी भए । उनका निकटतम प्रतिद्वण्द्वी नेपाली काँग्रेसका दिनेश कुमार यादवले १ हजार ७६ मत पाएका छन । वडाध्यक्षका लागि दलका १० जना र स्वतन्त्र ४ जना गरी १४ जना उमेदवार थिए । सो निर्वाचनको अन्तिम मत परिणाम अनुसार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका राम बहादुर कुर्मी चौधरीले ३ सय ४१ मत प्राप्त गर्दा सोहि पार्टीबाट छुट्टिएर बनेको जसपाका उमेदवारले शुन्य मत मात्रै पाए को देखिएको छ ।
अन्तिम मत परिणाम अनुसार जनमत पार्टीका सीताराम पटेल कुर्मीले ४ सय २३, नेकपा माओबादी केन्द्रका रफि मोहम्मद मुसलमानले १ सय ३८ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका अवधेस कुमार चौधरीले ९२ मत, राप्रपाका इनताज अहमद धोबीले ६६ मत, नागरिक उन्मुक्ति पार्टीका सुर्य कुमार चौधरी थारुले ३३ मत, नेकपा एसका सुब्बा थारुले १५ मत र स्वतन्त्र उमेदवार अब्दुल अब्बल फकिरले १ मत पाएका छन । कांग्रेसबाट विजयी वडाध्यक्ष तिलकराम यादवको निधन भए पछि उप निर्वाचन भएको हो ।