© २०२३
काठमाण्डौ –
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको संवत् भएको बताएका छन् । आजदेखि शुरु भएको नेपाल संवत् ११४५ को अवसरमा आज ललितपुरको पाटनमा भएको कार्यक्रममा उनले नेपाल संवत् आयातित संवत् नभई नेपाली मौलिकतामा चलेको संवत् रहेको बताए । उनले नेपाल मण्डलको संस्कृति मौलिक संस्कृति, नेवार सभ्यता र संस्कृतिसँग जोडिएको भन्दै हाम्रा सबै भाषा संस्कृतिलाई जोगाइराख्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री ओलीले माध्यमिक तहका ऐच्छिक विषयको पनि मातृभाषा पाठ्यक्रम माग भएको सम्बन्धमा सरकारले उचित निर्णय गर्ने बताए । नेपाल भाषा मङ्का खलः यलको संयोजन, ललितपुर महानगरको सहयोग तथा पाटनका विभिन्न जातीय समाजको सहकार्यमा आज पाटन मङ्गलबजारमा सांस्कृतिक कार्यक्रम गरिएको छ । २०५६ मङ्सिर २ गते कृष्णप्रसाद भट्टराईको नेतृत्वको तत्कालीन सरकारले नेपाल संवतकाे प्रणेता शङ्खधर साख्वाःलाई राष्ट्रिय विभूतिको मान्यता दिएको थियो ।
त्यस्तै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिँदै सरकारी कामकाजमा प्रयोगमा ल्याउने निर्णय गरी कार्यान्वयनमा ल्याएको थियो । नेपाल संवतकाे अवसरमा आज देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।