पाल्पा, ८ कात्तिक ।
असोजको मध्य समयमा आएको बेमौसमी वर्षाले ८७ लाख ५४ हजार बराबरको अन्न, फलफुल, तेलहन तथा दलहन वालीमा नोक्सान पुगेको छ ।
पसाएको धान त्यसैमाथि निरन्तर रुपमा भएको वर्षाका कारण धान खेतिमा सबै भन्दा बढी नोक्सान भएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । बेमौसमी वर्षाको बाढीका कारण तिनाउ खोलाले धेरै नोक्सानी गरेको छ । धान लहलह झुल्ने समयको वालीमा खोला पसेर बिउ नै नरहने गरी वोटै पुरिएको कृषकहरु बताउछन् । असारमा आएको बाढीले करिव ५ सय रोपनी क्षेत्रफलको खेतको धान बगरमा परिणत गरेको थियो । पछिल्लो समयमा खोला फुटेर खेतमा बाढी पस्दा धानवाली नोक्सान गरेको जिनकुमारी दर्लामी बताउँछिन् ।
बेमौसमी वर्षाका कारण २ सय १८ जना कृषक, ५६.३ हेक्टरमा लगाएको अन्न, तोरी फलफुल नष्ट गरेको कृषि ज्ञान केन्द्रका प्रमुख सन्तोष कुमार चौधरी बताउँछन् ।
सबै भन्दा बढी माथागढी गाउँपालिकामा ९२ जना कृषकको २५.५ हेक्टर क्षेत्रफलमा धानबाली नष्ट भएको छ । कृषकले कम समयमा धेरै पाक्ने हाइब्रिड बिउ प्रयोग गरेका कारण धानवाली नोक्सान हुन पुगेको हो । असोज महिनामा परेको बेमौसमी वर्षाले रिब्दीकोट गाउँपालिकाका कृषकहरुको वालीमा नोक्सान नभएको कृषकहरु बताउँछन् ।
वगनासकाली गाउँपालिकामा पानीसंगै आएको हावाहुरीका कारण २ जना कृषकहरुको २–२ रोपनी क्षेत्रफलमा लगाएको सुन्तलामा नोक्सान भएको स्थानीय कृषकहरु बताउँछन् ।
गतवर्षको तुलनामा यस वर्ष आएको बेमौसमी वर्षाका कारण तानसेन नगरपालिकाभित्र तोरीमा समेत नोक्सानी गरेको छ । तिनाउ गाउँपालिकामा १८ हेक्टर, रैनादेबी गाउँपालिकामा ७.६ हेक्टर, तानसेन नगरमा १९ हेक्टर क्षेत्रफलको धानवालीमा नोक्सान गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।