© २०२३
बुटवल —
सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी बयानका लागि गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष एवं पूर्वडिआईजी छविलाल जोशीलाई सोमबार बुटवल ल्याईएको छ । अनुसन्धानकै क्रममा पोखरा प्रहरी हिरासतमा रहेका जोशीलाई सोमबार जहाज मार्फत पोखराबाट बुटवल ल्याएको हो ।
रुपन्देही प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक लक्ष्मी खड्काका अनुसार जोशीलाई सोमबार नै सरकारी वकिलको कार्यालयमा पेश गरिएको छ । तर, बयान मंगलबारबाट हुनेछ । ‘हामीले आज नै उहाँलाई सरकारी वकिलको कार्यालयमा पेश गरेका छौं, तर बयान भोलिबाट मात्र सुरु हुनेछ,’ उनले भनिन्, ‘मुद्दा बुटवलबाट चलेका कारण उहाँलाई इलाका प्रहरी कार्यालयमै राखिएको छ ।’
बुटवलको सुप्रिम बहुउद्देश्यीय सहकारी संस्थाबाट झण्डै १५ करोड रकम गोर्खा मिडिया नेटवर्कको खातामा जम्मा भएको देखिएको छ । त्योमध्ये २ करोड गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं रास्वापा सभापति रवि लामिछानेको नाममा, २ करोड ५० लाख छवीलाल जोशीका नाममा, ४ करोड ५ लाख गोर्खा मिडियाका नाममा, १ करोड ५६ लाख १५ हजार रुपैयाँ रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यका नाममा, भुपेन्द्रबाबु राईका नाममा ३ करोड ३० लाख र कुमार रम्तेलका नाममा १ करोड ३ लाख ३६ हजार रुपैयाँ गरी १४ करोड २९ लाख ३६ हजार रुपैया गएको अनुसन्धानबाट देखिएको छ ।
प्रतिनिधि सभा सदस्य सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिको सिफारिस कार्यान्वयनका क्रममा असोज ६ गते जोशी काठमाण्डौंबाट पक्राउ परेका थिए । पक्राउ लगत्तै उनलाई पोखरा लगेर अनुसन्धान र बयान गरिएको थियो । इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक बिजय पण्डितले जोशीलाई बुटवल ल्याएर हिरासतमा राखिएको र मंगलबारदेखि सरकारी वकिल कार्यालयमा बयान सुरु हुने बताए । ‘बयान कतिदिन हुन्छ र त्यसपछि कता पठाउने अहिल्यै टुंगो छैन,’ उनले भने, ‘बयान सकिएपछिको समन्वयमा त्यो निधो हुन्छ ।’