© २०२३
सल्यान, १५ असोज ।
शारदा नगरपालिका वडा नम्बर–१३ साङ्घारमा सार्वजनिक जग्गामा बनेका अवैध संरचना हटाउने कार्य सुरु गरिएको छ । शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीको नेतृत्वमा मंगलबार बिहानैदेखि उक्त कार्यलाई अगाडि बढाइएको हो ।
यस क्रममा सार्वजनिक जग्गामा बनाइएका बाख्रा र बङ्गुरका ८ वटा खोर डोजरको प्रयोग गरी हटाइएको छ । आवासको रूपमा प्रयोग भइरहेका घरहरूलाई भने लिखित निवेदनका आधारमा व्यवस्थापन गर्न समय दिइएको छ ।
साङ्घार क्षेत्रमा करिब ७५ रोपनी सार्वजनिक जमिन रहेको छ । संरचना हटाउन यसअघि नै सूचना जारी गरिए तापनि स्थानीयले अटेर गरेपछि नगरपालिकाले डोजर प्रयोग गरी उक्त संरचनाहरू हटाउन बाध्य भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले उक्त क्षेत्रमा सडक चौडा गर्ने, नाली निर्माण गर्ने, र तटबन्ध बनाउने योजना अघि सारेको छ। नगर प्रमुख प्रकाश भण्डारीले सार्वजनिक जग्गाको संरक्षण गर्दै नगर विकासका कामहरूलाई अगाडि बढाउने बताए । उनले स्थानीयलाई सार्वजनिक जग्गा अतिक्रमण नगर्न र नगरको विकासमा सहयोग पुर्याउन आग्रह गरेका छन् ।
सो अवसरमा शारदा नगरपालिकाका उपप्रमुख सुस्मिता सापकोटा, प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटा, वडा नम्बर १३ का वडा अध्यक्ष जंग बहादुर बुढा लगायतको उपस्थिति थियो ।