© २०२३
काठमाडौं ।
सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। सभामुख घिमिरेले बैठक आज दिउँसो १२:४५ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेगरि बोलाएका हुन् ।
बैठकमा हिउँदे अधिवेसन अन्त्य, प्रधानमन्त्रीको सम्बोधनसहित आजको प्रतिनिधिसभा बैठकको कार्यसूचीलगायत विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ ।
दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सरकारले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिसकेको छ ।
यस अघि आइतबारको बैठक माओवादी केन्द्रले संसदको अवरोध गर्ने अडान नछोडेपछि बस्दै नबसी स्थगित भएको थियो ।
गत बुधबार बसेको बैठक माओवादी केन्द्रले अवरुद्ध गरेपछि स्थगित भएको थियो । संसदमा माओवादी जनयुद्धलाई लक्षित गर्दै प्रयोग भएको ‘हिंसा’ शब्द असंसदीय नभएको सभामुखले रुलिङ गरेपछि माओवादी केन्द्रले त्यसको विरोध गर्दै संसद अवरुद्ध गरेको थियो । अब माओवादी केन्द्रले सो रुलिङ फिर्ता नलिएसम्म संसदको अवरोध कायम राख्ने बताएको छ ।