© 2026
लमही ।
बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँमा शनिवार सार्वजनिक यातायातका चालकहरूको सडकमै निःशुल्क स्वास्थ्य जाँच गरिएको छ ।
राप्ती गाउँपालिका,इलाका प्रहरी कार्यालय सिसहनियाँ र अस्थायी ट्राफिक प्रहरी पोस्ट लमहीको संयुक्त आयोजनामा लामो तथा छोटो दूरीमा चल्ने सार्वजनिक यातायातका चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गरिएको हो ।
स्वास्थ्य शिविरमा १ सय ८० जना चालक तथा सहचालकको स्वास्थ्य जाँच गरिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिए ।
शिविरमा उच्च रक्तचाप,मधुमेह, बीएमआई तथा आँखाको दृष्टि परीक्षण गरिएको थियो । स्वास्थ्य जाँचका क्रममा केही चालक तथा सहचालकमा उच्च रक्तचापको समस्या देखिएको थियो ।
स्वास्थ्य समस्या देखिएकाहरूलाई चिकित्सक तथा स्वास्थ्यकर्मीको सल्लाहअनुसार नियमित औषधि सेवन गर्न, समय–समयमा स्वास्थ्य परीक्षण गराउन तथा मानसिक तनाव कम गर्दै सवारी सञ्चालन गर्न सुझाव दिइएको थियो ।
शाखा प्रमुख राउतले सवारी दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनको प्राविधिक अवस्था र सडकको अवस्थासँगै चालकको स्वास्थ्य अवस्था पनि उत्तिकै महत्त्वपूर्ण हुने भएको हुँदा स्वास्थ्य जाँच शिविर आयोजना गरिएको बताए ।
उनले चालकको शारीरिक तथा मानसिक अवस्था प्रत्यक्ष रूपमा सवारी सञ्चालनसँग जोडिएकाले समयमै स्वास्थ्य समस्या पहिचान गरी आवश्यक परामर्श तथा उपचार गर्न सके दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुग्ने बताए ।
लामो समयसम्म लगातार सवारी चलाउँदा हुने थकान, पर्याप्त आरामको अभाव, मानसिक तनाव तथा विभिन्न स्वास्थ्य समस्याले चालकको एकाग्रतामा असर पर्न सक्ने भएकाले नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
स्वास्थ्य परीक्षण सेवामा लालमटिया स्वास्थ्य चौकी भालुवाङका कार्यालय प्रमुख तथा स्वास्थ्य अधिकृत कृष्णप्रसाद श्रेष्ठ, अहेब शिवकुमार चौधरी र चेतन पोख्रेल, हेल्थ असिस्टेन्ट नारायण गौतम, ल्याब असिस्टेन्ट रमेश चौधरी, तिलगंगा सर्जिकल आँखा केन्द्रकी नेत्र सहायक मीना जीएम तथा नागार्जुन डेभलपमेन्ट कमिटीका टिकराम राउतले सेवा प्रदान गरेका थिए ।