© २०२३
सुर्खेत, ३० भदौ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीका नौ जिल्लामा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । कर्णालीमा असोजको पहिलो सातादेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले प्रदेशका १० जिल्लामध्ये नौ जिल्लामा एकसाथ पहिलो चरणमा दसैँ लक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको जनाएको छ । यी जिल्लाहरुमा असोज ७ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन हुँदैछ ।
सुर्खेत, जाजरकोट, कालिकोट, रुकुमपश्चिम, डोल्पा, दैलेख, मुगु, जुम्ला र हुम्लामा एकसाथ चाडपर्व लक्ष्यित सुपथ मूल्य पसल सञ्चालन गरिनेछ । सल्यानमा कम्पनीको कार्यालय नभएका कारण त्यहाँ सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरिएको छैन ।
उपभोक्ताले माग गरेमा दसैँदेखि तिहार हुँदै छठसम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने लक्ष्य रहेको कम्पनीका कर्णाली प्रादेशिक प्रमुख माधव मिश्रले जानकारी दिए । कम्पनीले गत वर्ष पनि प्रदेशका नौ जिल्लामा सुपथ मूल्य पसल सञ्चालन गरेको थियो ।
उपभोक्ताको उच्च मागलाई ध्यान दिएर यस वर्ष चार प्रकारका चामलसँगै तेल, घिउ र दाल बिक्रीका लागि राखिनेछ । कर्णालीमा उत्पादन हुने रैथाने वस्तुहरुलाई पनि बिक्रीका लागि राखिने मिश्रले जानकारी दिए ।