© २०२३
सुनवल, २९ भदौ ।
पश्चिम नवलपरासीका चार वटा सिमावर्ती गाँउपालिकामा पोषण मार्फत जिवन रूपान्तरण परियोजना सुरु भएको छ । एकिकृत हातेमालो समाज नेपाल (सियान) मार्फत सञ्चालन हुने परियोजनाको बिहीवार सुनवलमा एक कार्यक्रमको आयोजना गरी औपचारिक शुभारम्भ गरिएको हो । जिल्लाको पाल्हीनन्दन, सरावल, प्रतापपुर र सुस्ता गाउँपालिकामा गर्भवती महिला, नवजात शिशु र बालबालिकाको पोषणको अवस्था सुधार गर्न परियोजनाले काम गर्ने सियानका अध्यक्ष डिल्लीराम गिरीले जानकारी दिए ।
परियोजनाले स्थानिय तहसंगको सहकार्यमा पोषण सुधारका क्षेत्रमा तहगत रूपमा काम गर्ने गिरीले बताए । कृषि तथा खाद्य प्रणालीमा सुधारका लागी परियोजनाले पर्याप्त सुरक्षित र पौष्टिक खानाहरूमा भौतिक र आर्थिक पहुँच बढाउनका लागी विभिन्न कार्यक्रम संञ्चालन गर्ने जनाएको छ । साथै पोषण सुधारका लागी स्थानिय कृषि उत्पादन वृद्धि गर्न घर तथा करेसाबारी स्थापना तथा व्यवस्थापन तालिम प्रदान गरिने छ । नर्सरीका लागी बिउ तथा समाग्री सहयोग गर्ने, दीगो खेती प्रविधिहरूको बारेमा जानकारी दिने, राम्रो कृषि अभ्यासका लागि सामुदायिक व्यवसायीक सहजकर्ताहरू छान्ने र तालिम दिएर उनिहरूलाई समुदायमा खटाई सिप प्रर्वद्धन गर्ने लक्ष्य पनि परियोजनाले लिएको कार्यकारी निर्देशक भास्कर कुमार अधिकारीले बताए । गरिव विपन्न परिवारलाई जिविकोपार्जनका लागी बाख्रा कुखुरा पालनमा सहयोग गर्ने, उत्पादित समानको बजारीकरणमा समेत सहयोग पु¥याउने लगायतका पोषण सुधारका लागि तल्लो तहबाटै योजनावद्ध काम गर्ने परियोजनाको लक्ष्य रहेको अधिकारीले जानकारी दिए । परियोजनाले चार पालिकामा काम गर्न चालु आर्थिक वर्षका लागी कुल १ करोड २२ लाख बजेट छुट्याएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले कार्यक्रमहरू दोहोरीन नदिन स्थानिय तहसंग प्रभावकारी समन्वय गर्नुपर्नेमा जोड दिए । विभिन्न परियोजना र स्थानिय तहका कार्यक्रम दोहोरिदा प्रभावकारीता कम भएको यादवको भनाइ छ ।
सुस्ता गँउपालिकाका अध्यक्ष टेकनारायण उपाध्याय र सरावल गाँउपालिकाका अध्यक्ष सुखाडी चौधरीले परियोजनाका कार्यक्रम प्रभावकारी बनाउन पालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।