© २०२३
तानसेन ।
आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउन सहयोग पुर्याउने रणनीतिक कार्ययोजना बनाउँदै नेपाल चेम्बर अफ कमर्स लुम्बिनीको कार्यशाला शुक्रवार सम्पन्न भएको छ ।
सरकारसँगको सहकार्यमा निजी क्षेत्रलाई सबल र सक्षम बनाएर मात्र समृद्ध नेपालको परिकल्पना साकार पार्न सकिने निश्कर्ष निकाल्दै चेम्बर लुम्बिनीले आगामी ३ वर्षे कार्ययोजना तय गरेको छ ।
३ वर्षे रणनीति अन्तर्गत चेम्बरले अन्तर्राष्ट्रिय चेम्बरहरुसँग सम्बन्ध बिस्तार गर्दै लुम्बिनीको समग्र औद्योगिक विकासका लागि नीतिगत पहल गर्न विभिन्न कार्ययोजना तय गरेको छ । त्यस्तै लुम्बिनी प्रदेशमा चेम्बरको संख्या १ सय पुर्याउने, साना तथा मध्यम ब्यवसायीहरुलाई ब्यवसाय प्रवद्र्धन र ब्यवस्थापन सम्बन्धी तालिम दिने, प्रदेशका उत्पादनहरुको बजारीकरणका लागि प्लेटफर्म तयार गर्ने, परम्परागत मेला तथा तथा महोत्सवहरुलाई परिवर्तन गरेर बहुउपयोगी र आकर्षक बनाउने कार्ययोजना बनाएको छ ।
मुलुकमा उत्पादन भएका गुणस्तरीय वस्तुहरुको निर्यातका लागि अन्तर्राष्ट्रिय चेम्बरहरुको सहकार्यमा ब्यवसायीहरुलाई सहयोग गर्ने, निर्यातका लागि सम्भावित थप वस्तुहरुको पहिचान गर्ने लगायतका योजना तय गरेको छ ।
त्यस्तै समग्र लुम्बिनी प्रदेशको आर्थिक विकासका लागि संरचनागत र नीतिगत सुधारका लागि पैरवी गर्ने, साना तथा मझौला उद्यमको सशक्तिकरण गर्ने, साझेदारी र सहकार्य बिस्तार गर्ने, पर्यटन विकासका लागि अन्तर्राष्ट्रिय चेम्बरहरुसँग सहकार्य गर्ने, सीप विकास तालिमहरु सञ्चालन गर्ने कार्ययोजना बनाएको छ ।
सो अवसरमा चेम्बर लुम्बिनीका विभिन्न उपसमितिहरु गठन भएका छन् । उपसमितिहरुमा नीति निर्माण, राष्ट्रिय, अन्तर्राष्ट्रिय सम्पर्क समन्वय उपसमिति, तालिम तथा क्षमता अभिवृद्धिी, सङ्गठन बिस्तार तथा सदस्यता वृद्धि, पर्यटन प्रवद्र्धन, उद्योग, सचिवालय ब्यवस्थापन, वित्त ब्यवस्थापन, महिला उद्यमशीलता, युवा उद्यमशीलता र अनुगमन उपसमिति छन् ।
कार्यशालाको समापन गर्दै प्रतिनिधि सभाका सदस्य ठाकुर गैरेले पाल्पामा सम्पन्न भएको चेम्बरको कार्यशालाले पाल्पाको पर्यटन प्रवद्र्धनको बाटो देखाउँदै लगानीको वातावरण बनाउन आहुवान गरे । निजी क्षेत्रको सहभागिताबिना मुलुकको सम्मृद्धिको परिकल्पना गर्न नसकिने बताउँदै राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने धारणा राखे ।
चेम्बर लुम्बिनीका अध्यक्ष टङ्क पोखरेलले कार्यशालाबाट तय गरिएको कार्ययोजना कार्यान्वयनमा लाग्ने प्रतिवद्धता जनाए । कार्यशालाको सहजीकरण सहजकर्ता मुकुन्द ज्ञवालीले गरेका थिए ।