© २०२३
बुटवल, १९ भदौ ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले लैङ्गिक समानताको दृष्टिकोणले समाजका हरेक क्षेत्रमा महिला नेतृत्व बढाउनु पर्ने जोड दिएका छन् । उनले राजनीतिक दल सरकार, सदन र पत्रकारितामा पनि महिला नेतृत्वलाई अगाडि बढाउनु पर्नेमा जोड दिए ।
उनले समाजका हरेक क्षेत्रमा पुरुषबाद हावी भएको बताउँदै पुरुषमा बिश्वासको समस्या र महिलामा आट र धेरै ईमानदारिता भएकै कारण महिला भन्दा पुरुषहरु शासकीय बृत्तमा धेरै आगाडि भएको बताए । संसदमा पनि आफ्नो अनुभब र नियमावलीमा भएका बिषयलाई जोड्दै केही कानुनी जटिलताले पनि महिलालाई अगाडि आउन बाधा पुर्याएको बताए ।
कानुनमा पनि केही बिषय संशोधन गर्नु पर्ने बताए । सभामुख धर्तीले महिलालाई प्रमुख तहमा लैजान र राजनीतिक क्षेत्रमा कलम चलाउन अझै मेहेनत र पुरुषको प्रतिस्पर्धामा जानु पर्ने बताए । मिडिया एड्भोकेसी ग्रुप र क्यानडियन राजदुतावासले बुटवलमा आयोजना गरेको राजनीतिक र विदेशी मामिला रिपोर्टिङका क्षेत्रमा महिला पत्रकारहरूको क्षमता अभिवृद्धि कार्यशालामा सभामुख घर्तीले उक्त कुरा बताएका थिए ।
त्यस्तै बुटवल उपमहानगरका उपप्रमुख सावित्रादेवी अर्यालले आर्थिक पक्ष बलियो नभएसम्म महिला राजनितिमा अगाडि बढ्न नसक्ने बताईन । उनले महिलाले गरेको राम्रो काम कसैले देख्न नसकिने भन्दै पितृसत्तात्मक सोचबाट माथि उठ्न आवश्यक भएको उल्लेख गरिन् । राजनीतिमा धैर्यताका साथ अगाडि बढ्नु पर्ने भन्दै निरन्तर सकारात्मक काममा लाग्नुपर्ने बताउँदै महिलाले राजनीतिमा हस्तक्षेपकारी भूमिकाबाट आगाडि बढ्नु पर्ने बताईन ।
बुटवलमा संचालित १ दिने कार्यशालामा प्रमुख प्रशिक्षक नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष महेन्द्र विष्टले राजनीतिक प्रणाली लोकतन्त्र,गणतन्त्र र संघीयता लगायतका संसदीय अभ्यास, राजनीति तथा परराष्ट्र मामिला रिपोटिङको महत्व संसदीय र राजनीतिक क्षेत्रमा रिपोटिङ्गका बिषयमा प्रशिक्षण दिएका थिए । त्यस्तै मिडिया एड्भोकेसी ग्रुपका संस्थापक अध्यक्ष तथा प्रशिक्षक बबिता बस्नेतले लैंगिक दृष्टिकोणबाट राजनीतिक बिषय, महिला सहभागिता बढाउने र नेपालको परराष्ट्र नीतिका बिषयमा आधारित प्रशिक्षण दिएकी थिइन् ।
कार्यशालामा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, सञ्चारिका समूह लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोल लगायतले पनि बोलेका थिए ।
कार्यशालाले महिला पत्रकारहरूको सशक्तीकरण गर्दै राजनीतिक र अन्तर्राष्ट्रिय सम्बन्धसँग सम्बन्धित समाचारहरूलाई गहिराइबाट बुझ्न र प्रभावकारी ढंगले रिपोर्ट गर्न सक्षम बनाउने मिडिया एड्भोकेसी ग्रुपका संस्थापक अध्यक्ष बस्नेतले बताईन ।