Butwal Today

दुर्घटना रोक्न सडकहरुमा जेब्रा क्रसिङ

१९ भाद्र २०८१, बुधबार
अ+
अ-

लमही, १९ भदौ ।

चाडबाडमा हुने भिडभाडलाई लक्षित गरी दाङको लमही बजारका सडकहरुमा जेब्रा क्रसिङ निर्माण गरिएको छ ।

लमही चेम्बर अफ कमर्सको आयोजनामा लमही बजारका भित्रि सडक र हाईबेमा समेत जेब्रा क्रसिङ बनाइएको हो । बजारका सडकहरुमा भएका जेब्रा क्रसिङ पुरानो भएकाले पैदल यात्रीहरु अन्यौलमा पर्ने र जसले गर्दा दुर्घटना निम्तिन सक्ने भन्दै क्रसिङ सिंगनललाई पुनः कलर गरिएको हो । दुर्घटना न्युनीकरणका लागि लमही चेम्बर अफ कमर्सको आयोजना, वडा प्रहरी कार्यालय लमही, ट्राफिक प्रहरी लमही, ५ नम्बर वडा कार्यालय र सक्रिय युवा ब्यसायीहरुको सहकार्य र संयोजनमा जेब्रा क्रसिङ कलर गरिएको हो ।

चाडबाड नजिकिदै गर्दा भिडभाड बढ्ने र क्रसिङ गर्दा पैदल यात्री अन्यौलमा परेर दुर्घटना हुने अवस्थालाई मध्यनजर गरी जेब्रा क्रसिङ पुनः कलर गरिएको लमही चेम्बर अफ कमर्सका अध्यक्ष शितल भुसालले बताए । उनले चाडबाडको बेला कसैमा पनि अप्रिय घटना नघट्नका निमित्त जेब्रा क्रसिङबाट बाटो क्रस गर्नुपर्ने सुझाए । साथै अध्यक्ष भुसालले चाडबाडको बेला चोरीका घटना बढ्ने भएकाले सबै ब्यवसायीहरुलाई सचेत हुन समेत आग्रह गरेका छन् ।

लमहीका सक्रिय ब्यवसायी तथा समाजसेवी डिल्लिराज खनालले जेब्रा क्रसिङ निर्माण सह्रानीय रहेको र यो अभियानमा आफू लगायत आफ्नो टिम पनि सहकार्यमा जुटेको बताए । “यो काम समाजको हितको निम्ति छ, यस्तो कामलाई सबैले समर्थन गर्दै साथ दिनुपर्छ समाजसेवी खनालले भने–“हामी चेम्बर अफ कमर्ससँगै अभियानमा जुटेका छौँ ।”

जेब्रा क्रसिङ निर्माणको कार्य केहीदिन सम्म निरन्तर चल्नेछ । बजार खेल्न आउनेहरु जेब्रा क्रसिङ मार्फत सडक पार गर्नुपर्ने भन्दै ट्राफिक प्रहरी कार्यालय लमहीले सबैमा अपिल गरेको छ । सडक सुरक्षा जीवनको रक्षा भएकाले सबैले सडक पार गर्दा जेब्रा क्रसिङ मार्फत पार गर्नुपर्ने ट्राफिक प्रहरी लमहीका प्रमुख प्रहरी सहायक निरीक्षक टेक बहादुर कुसारीले बताए । जेब्रा क्रसिङ नहुँदा पैदल यात्री लापरबाही तरिकाले सडकमा हिड्ने र जसले गर्दा ४० प्रतिशत बढी दुर्घटना जेब्रा क्रसिङको अभावले हुने गरेको पाइएको प्रमुख कुसारीले बताए ।

हुइँकिएर आएका गाडीलाई पनि कहाँ स्पिड कम गर्ने भनेर अलमल हुने र यसले दुर्घटना निम्तिने सम्भावना बढ्ने बताए । “जेब्रा क्रसिङ भएको बाटोमा हिँड्दा केही हदसम्म सुरक्षित महसुस हुन्छ, लमही बजार भित्रका जेब्रा क्रसिङ चाँडै मेटिने भएकाले बढीमा तीन महिनाभित्रै रङ लगाउनु पर्ने हुन्छ”– प्रमुख कुसारीले भने–“अस्पताल, विद्यालय, पसल र धेरै मान्छे ओहोरदोहोर हुने ठाउँमा पर्याप्त जेब्रा क्रसिङ हुनुपर्छ ।”

जेब्रा क्रसिङले विद्यालय क्षेत्र, मुख्य चोकहरुमा पैदल यात्रुलाई सहज हुनुका साथै सवारी गति नियन्त्रण गर्न सघाउनेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?