© २०२३
बुटवल, १२ भदौ ।
नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा युवा रेडक्रस सर्कल, पक्लिहवा कृषि क्याम्पसकोे आयोजना तथा नेपाल रेडक्रस सोसाइटी, बेलहिया उपशाखाको सहकार्यमा ‘खुल्ला रक्तदान कार्यक्रम’ क्याम्पस प्राङ्गणमा सम्पन्न भयो ।
नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका कोषाध्यक्ष तथा युवा समाजसेवी सुशील गुरुङ्गले रक्तदान कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा गुरुङ्गले सदैव मानवीय सेवामा समर्पित रेडक्रसले समयानुकुल रक्तदान कार्यक्रम सञ्चालन गरेर रगतको अभाव हुन नदिई विरामीको ज्यान जोगाउन महत्वपूर्ण र पवित्र कार्य गरेको बताए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, बेलहिया उपशाखाका अध्यक्ष राकेश गुरुङ्ग, नयाँगाउँ रानीगाउँ गाउँ समाजका अध्यक्ष याम बहादुर थापाले मानव जीवनमा रगतको महत्व, यसको सोधभर्ना, मानवीय कार्यमा रेडक्रसले खेलेको भूमिकाको बारेमा आफ्नो धारणा राखेका थिए । साथै कार्यक्रममा बेलहिया उपशाखाका पूर्व अध्यक्ष सुमन शर्मा, सचिव माधव शर्मा, सदस्य राजु खड्का, प्रतिक थापा मगर, अविचल जंग के.सी., गौरव थापा लगायतको उपस्थिति रहेको थियो । रक्तदान कार्यक्रम मार्फत कुल ४७ प्वाइण्ट रगत संकलन गरिएको कार्यक्रम संयोजक अस्मिता के.सी बताए । कार्यक्रममा युवा रेडक्रस सर्कल, पक्लिहवा कृषि क्याम्पसका अध्यक्ष नरेश उपाध्याय, रणसिंह सुवेदी लगायतले बोलेका थिए ।