© २०२३
बुटवल, ११ भदौ ।
श्री वैष्णव परिषद युएईले सोमबार दुबईस्थित हल्मा पिंक रेष्टुरेन्टमा श्रीकृष्ण जन्माष्टमी कार्यक्रम सम्पन्न गरेको छ । भागवत भक्तहरुको उल्लेख्य उपस्थितिमा भव्य र सभ्य रुपमा कार्यक्रम सम्पन्न भएको थियो ।
वैष्णव परिषद युएईका महासचिव प्रदीप दाहालले देव, कलश र गणेशको मन्त्र बजाएर कार्यक्रमको सुरुवात गरेका थिए । नानीहरुको नाचगानले कार्यक्रमको वातावरणलाई थप भक्तिमय बनाएको थियो, त्यसैगरी हिन्दु जागरण युएईको भजन मण्डलीले भगवान कृष्णको सुमधुर भजन गाएर कार्यक्रमलाई थप भक्तिमय बनाएको थियो ।
नेपालबाट विश्वप्रकाश दसोहम स्वामीजीले भगवान कृष्ण (बालगोपाल), श्री भगवानलाई शृङ्गार वैष्णव परिषद युएईकी उपाध्यक्ष अञ्जली भट्टराई र सदस्य ममता शर्मा ढकाल, चन्द्रिका भण्डारी र बनिता दाहाललाई तिरुमञ्जन अर्पण गरेका थिए ।
श्री वैष्णव परिषद युएईका अध्यक्ष मणिराम खतिवडाले भक्तजनहरुलाई स्वागत गरेका थिए साथै हिन्दू जागरण नेपाल युएई शाखा र सनातन गौ संकरण युएईका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, धार्मिक तथा सामाजिक व्यक्तित्वहरुले भक्तजनहरुलाई स्वागत गरेका थिए ।
कार्यक्रममा स्वामीजी विश्वप्रकाश दसोहम बातले भगवान् कृष्णको कथा सुनाएर भक्तहरूलाई मंत्रमुग्ध बनाएका थिए । भजन मण्डलीले गाएको भक्ति संगीत कार्यक्रममा दुबईमा बस्ने धार्मिक इन्जिनियर राजेन्द्र अधिकारी, जे सागर, भवानी नेपालले संगीतमय, भक्तिमय वातावरण बनाएको थियो ।
ओमप्रकाश न्यौपाने, रमेश न्यौपाने लगायतको उपस्थितिमा टोयानाथ लम्सालले अभिषेक जोशीले लिखित ग्रन्थ वेद, बुद्ध र दिव्योपदेश बारे भक्तजनहरुलाई जानकारी गराउनुका साथै कार्यक्रममा नेपालीहरुले देखाएको लगावलाई उच्च सम्मान गरेका थिए । उनीहरुको धर्म संस्कृति र यस्ता कार्यक्रमले नेपाली जनताको आपसी एकता, भक्तिभाव र आध्यात्मिक ज्ञानलाई सुदृढ बनाउने समेत बताए ।
कार्यक्रमको अन्तिम भाग भगवान श्रीकृष्णको आरती गरेर समापन गरिएको थियो । कार्यक्रमको समापनपछि श्री वैष्णव परिषद युएईका सचिव गणेश जोशी, सदस्य अर्जुन ढकाल र अच्युत नेपाल, रविन कोइराला र शैलेश नेपालले सबै भक्तजनलाई प्रसाद पानी वितरण गरेका थिए ।