© २०२३
काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पाको ऐतिहासिक रणउजीरेश्वरी भगवतीको २०५ औं रथजात्राको अवलोकन गरेका छन् । पहिलो पटक राष्ट्रप्रमुखका रुपमा पहिलोपटक पाल्पाको ऐतिहासिक रणउजीरेश्वरी भगवती रथजात्रा अवलोकनका लागि पुगेका राष्ट्रपति पौडेलले भगवती जात्राको अवलोकनसँगै मन्दिरमा पूजा पनि गरेका छन् । राष्ट्रपति पौडेलले नेपाली सेनाको दि फेमस महिन्द्र दल गणको निरीक्षण गर्नुका साथै पाल्पाका जनप्रतिनिधि र सरोकारवालासँग भेट गरेका उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
राष्ट्रपति पौडेलले रणउजीरेश्वरी भगवतीको मन्दिर पुरानै शैलीमा तीन तले बनाउन पुरातात्विक विभागले गरेको सिफारिस कार्यान्वयन गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराएको सल्लाहकार पोखरेलले बताए। राष्ट्रपति पौडेलले पाल्पा दरबार र त्यहाँ निर्मित संग्रहालयसहित समग्र दरबार परिसरलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने र त्यसलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउन पहल गर्नुपर्ने पनि बताए ।
जात्रामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे एवं रक्षामन्त्री मानवीर राईसमेत सहभागी भएका छन् । नेपाल–अंग्रेज युद्धमा कर्णेल उजीरसिंह थापाले नुवाकोट पाल्पा जितगढी किल्ला विजयी गरेको सम्झनामा २०५ वर्षदेखि पाल्पाको तानसेनमा भगवतीको रथयात्रा निकालिँदै आएको छ ।