© २०२३
अमेरिकाको भर्जिनियामा तीन सातादेखि हराइरहेकी नेपाली नर्स ममता काफ्लेको खोजीका क्रममा उनका श्रीमान पक्राउ परेका छन् । उनका श्रीमान नरेश भट्टले ममताको हत्या गरि शव लुकाएको त्यहाँको प्रहरीको निष्कर्षपछि नेपाली महिलाहरू अव नेपालमा मात्रै होइन मानव अधिकारको देश भनेर चिनिने अमेरिकामा पनि सुरक्षित छैनन भन्ने स्पष्ट भएको छ । काभ्रेको पनौतीकी २८ वर्षीया ममता काफ्ले त्यहीको मनासस भन्ने स्थानबाट हराएकी थिइन । प्रहरीले ममताको खोजीका क्रममा घरमा खानतलासीपछि श्रीमान नरेश भट्टलाई नियन्त्रणमा लिएको छ । अमेरिकासँगै गत सातामात्रै गौरमा नवविवाहित युवतीको हत्या भएको छ । यो हत्यामा भने दाईजोलाई मूख्य कारण मानिएको छ । हत्याको अनुसन्धान चलिरहेको छ । महिलामाथि यसरी जघन्य अपराधका घटना बढिरहेका छन् । यद्यपि यो बर्षौदेखि चलिरहेको श्रृंखला भएपनि पछिल्लोसमय अपराधको उच्श्रृंखलताले ठूलो रूप लिन थालेको छ । यसअघि नेपालीहरू विदेशमा परिवारसंग मिलेर बसेको सुन्न पाईन्थ्यो । तर, पछिल्लो समय विदेशमा नेपाली युवतीहरूमाथि आफ्नै देशका दाजुभाई नेपालीहरूबाटै आक्रमण भैरहेको छ । विदेश गएका नेपाली युवतीहरू नेपालीहरूबाटै आक्रमण, दुव्र्यवहार र यौन शोषणको शिकार हुनुपरेको घटना बाहिर आउन थालेका छन् । यस प्रकारका घटनाले चिन्तामात्रै उत्पन्न गरेको छैन, नेपालीहरू शान्त, नरम र सुशील स्वभावका हुन्छन भन्ने विदेशी नागरिकमा परेको छाप तोडिएको अवस्था छ । अव विदेशमा पनि नेपालीहरूको पहिचान अपराधसंग जोडिनु चिन्ताको बिषय हो ।
अमेरिकामा भएको ममताको हत्याले नेपालीजनमा ठूलो शोकको अवस्था उत्पन्न गरिदिएको छ । नेपालीका लागि अमेरिका अहिलेसम्म सुरक्षित मानिएको थियो । तर, नेपाली चेलीहरू अमेरिकामा आफ्नै घर परिवार त्यो पनि श्रीमानबाटै असुरक्षित छन भन्दा नेपालीको सान र पहिचानमाथि धब्बा लागेको छ । यद्यपि अनुसन्धान जारी रहेको भन्दै प्रहरीले यसबारे थप जानकारी दिएको छैन् । यसअघि प्रहरीले अनुसन्धानमा श्रीमान नरेशले सहयोग नगरेको बताएको थियो । यो घटनालाई अहिले भर्जिनियाको प्रहरी र अमेरिकाका संचारमाध्यमले निकै चासो दिएका छन् । साउन १६ गते ममता घरबाट निस्किएको र त्यसपछि उनी बेपत्ता भएकी थिईन । पत्नी हराएको खबर उनका श्रीमानले पाँचदिनपछि साउन २१ गते बल्ल प्रहरीलाई दिएका थिए । त्यसैले उनी शंकाको घेरामा परिसकेका छन् । यता नेपालमा यस्ता अपराधजन्य घटना दिनहुँजसो सुन्नमा आईरहेका छन् । यस्तो लाग्छ– नेपालपनि अपराधका जघन्य घटनामा विश्वकै अपराध बढि हुने मुलुकको स्तरमा पुग्ने अवस्था देखिएको छ । अपराधजन्य घटनाले नेपाली समाजलाई विक्षिप्त वनाएको छ । यस प्रकारको समाचार सुन्दा अप्रिय र पत्याउनै गाह्रो पर्छ । निश्चितरूपमा यी प्रश्नहरू अहिले सवैको मनमा तेर्सिएको छ । देश तथा विदेशका विभिन्न स्थानबाट आईरहने यस प्रकारका घटनाले आम नेपाली जनता कोही पनि सुरक्षित छैन भन्ने कुरा प्रमाणितै भैसकेको छ । खासगरी तराईका विभिन्न स्थानमा हुने घटनाबाट सवैले पाठ सिक्नुपर्ने अवस्था छ । तराईमा दाईजोले जघन्य अपराध निम्त्याएको छ ।
यस प्रकारका जघन्य अपराधका पछि धेरै कारण हुन सक्छन तर पछिल्लो सर्वेक्षणले गरिबी, अशिक्षा, अज्ञानता र अन्धविश्वासले ग्रसित नेपाली समाजमा यस प्रकारका घटना प्रमुख कारक रहेको देखिएको छ । महिलामाथि मात्र होइन अहिले पुरुषमाथि पनि जघन्य प्रकारका अपराध हुन थालेका छन् । त्रासदीका घटना छँदैछन् । त्यसमाथि बलात्कार र हत्याका घटना धेरै बढेका छन् । दाइजो नल्याएको निहुँमा जिउँदै जलाउने, छोरी जन्माएको निहुँमा श्रीमानद्वारा बहु–विवाह गरी यातना दिने लगायत बोक्सीको नाउँमा महिलालाई थप प्रताडित गर्ने काम समाजका अगुवा भनाउँदाहरूबाट नै हुने गरेको पाइएको छ । गंभीर चिन्ताको कुरा के छ भने दाइजो नल्याएको निहुँलाई आधार बनाएर महिलालाई जिउँदै÷जलाउने मार्ने जस्ता घटनाहरू त मधेशमा सामान्य जस्तै भैसकेको छ । छोरी जन्माएको निहुँमा महिलालाई घर निकाला गर्नेदेखि लिएर अनेकौं यातना दिइन्छ तर आजको युगमा आएर यस्ता घटनाहरू दिनदहाडै घटिरहँदा पनि सम्बन्धित निकायले यस प्रकारका जघन्य अपराध नियन्त्रण गर्न प्रभावकारी संयन्त्र बनाउन किन सकिरहेको छैन ? सरकारमाथि नै प्रश्न उत्पन्न हुने अवस्था आउनु बिडम्वनाको कुरा हो । दण्डहीनताको संस्कृतिले जरो गाड्दै गएको कारण नै जसले जे गरे पनि हुन्छ भन्ने मानसिकता विकास भैरहेको छ । हिंसाको डरलाग्दो स्वरूपले मानव क्रुर वन्दै गएको देखाउँछ । यस प्रकारका घटनाको एउटै समाधान कडा कानुन नै हो । अव सरकारले अपराधको विकसित घटनाक्रम नियन्त्रणमा एकपटक फेरी गंभीर भएर कडा कानुन बनाउनेतर्फ आम सहमति गरोस् ।