© २०२३
पाल्पा, ११ भदौ ।
बुटवलको जितगढीमा भएको युद्धमा अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको खुशियालीमा २०५ औं ऐतिहासिक भगवती जात्रा आज पाल्पाको तानसेनमा निकालिँदै छ । हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट भगवतीको जात्रा निकाल्ने गरिन्छ ।
पाल्पाका तत्कालीन कर्णेल उजिर सिंह थापाले वि.सं १८७१ पुसदेखि १८७२ बैसाखसम्म भएको अंग्रेजसँगको युद्धमा बुटवलको जितगढीलगायतका क्षेत्रमा विजय हासिल गरेको थियो ।
सोही जितको सम्झनामा श्रीकृष्ण जन्माष्टमीमा रातभर जाग्राम बसी भजन किर्तन गरेर भोलिपल्ट तानसेन भगवतीटोलमा रहेको रणउजीरेश्वरी भगवतीको मन्दिरबाट सिन्दूरजात्रा निकाल्ने परम्परा सुरु भएको हो । राति १२ बजे बली दिएर भगवतीको रथ उचालेर पुजापाठ समेत गरिन्छ । भगवती रथलाई सिन्दूर, अबिर र केशरीसहित अन्य वैदिक पुजापाठ गर्दै सहर परिक्रमा गराइन्छ । नेपाल एकीकरणको समयमा तत्कालीन प्रशासक कर्णेल उजिर सिहं थापाले अंग्रेज फौजसँग बुटवलको जितगढीमा भएको लडाइमा युद्धमा जानु अघि थापाले युद्धमा जित भएमा मन्दिर बनाएर प्रत्येक वर्ष सिन्दूर जात्रा गर्ने भाकल गरेका र विजय पश्चात जात्रा मनाउन सुरु भएको इतिहासमा उल्लेख छ ।
पाँच वटा नाकाबाट नेपाल माथि भएको आक्रमणमा चार स्थानमा नेपालले हार बेहोर्नु परे पनि बुटवलको जितगढीको लडाइँमा अंग्रेज फौजलाई नेपाली फौजले हराएको थियो । यस वर्षको भगवती रथयात्रामा पहिलो पटक राष्ट्रप्रमुखको सहभागिता हुने भएको छ । रणउजीरेश्वरी भगवतीको पूजा आराधना तथा रथयात्रामा राष्ट्रपति रामचन्द्र पौडेल, संघका अर्थमन्त्री, पर्यटन मन्त्री, रक्षा मन्त्री, लुुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेशका अर्थमन्त्री, स्वास्थ्य मन्त्री, पर्यटन मन्त्रीदेखि संघीय सांसद, प्रदेश सांसद, सेनापति लगायतका उच्च पदस्थ व्यक्तिहरूको सहभागीता रहने भगवती मन्दिर व्यवस्थापन समितिका सञ्चार तथा प्रचार उपसमितिका संयोजक पदम न्यौपानेले बताए ।