© २०२३
सुर्खेत, ११ भदौ ।
सुर्खेत बहुमुखी क्याम्पसमा सहमति विपरित करार प्रक्रिया थालेको भन्दै प्रध्यापक संगठनहरुले विरोध गरेका छन् । विभिन्न प्रध्यापक संगठनहरुले ध्यानाकर्षण जनाउँदै उक्त निर्णय सच्याउन माग गरेका छन् । उनीहरुले अवैधानिक तबरबाट दुईजना विज्ञ प्राध्यापकलाई मात्र करार प्रक्रिया थालेको भन्दै विरोध गरेका हुन् ।
क्याम्पस कार्यसमिति बैठकले व्यवस्थापन संकायमा आशिक प्राध्यापकलाई करार गर्ने भनी गरेको निर्णयमा यस क्याम्पसका सम्पूर्ण सरोकारवाला पक्ष सँग भएको सहमति विपरीत दुई जना प्रध्यापकलाई करार प्रक्रिया थालिएको आशिक प्राध्यापकहरुले जनाएका छन् । प्रधयापकहरुले ध्यानाकर्षणपत्र जारी गर्दै क्याम्पस प्रमुखले त्रिविको अतिरिक्त कक्षा निर्देशिका २०७७ लाई लत्याएर क्याम्पसलाई धरासायी बनाई अवैधानिक तबरबाट २ जना विज्ञ प्राध्यापकलाई मात्र करार प्रक्रिया थालेको बताएका छन् ।
व्यवस्थापन संकायमा मात्र करार गर्ने निर्णयलाई यथाशिघ्र छलफल गरी, सहमति र सहकार्यको नयाँ शिराबाट बिभिन्न समयमा क्याम्पसका सरोकार पक्ष तथा आशिक प्राध्यापक संघसँग भएको सहमति अनुसार अगाडि बढ्न प्रध्यापकहरुले माग गरेका छन् ।
ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘कुनै आशिक प्राध्यापकहरुलाई करार गर्नुहुन्न भन्ने होइन, तर क्याम्पसमा लामो समयदेखि शिक्षा शास्त्र र व्यवस्थापन संकायमा प्राध्यापनरत आशिक प्राध्यापकहरु मध्येबाट आवश्यक भएका विषयहरुमा त्रि.वि. कार्यकारी र आशिक प्राध्यापकहरुको बीचमा भएको सहमति अनुसार सगँसँगै विज्ञापन गरी करार गर्नु पर्छ भन्ने सामूहिक धारणा हुनुका साथै आशिक प्राध्यापकहरुले राखेको मागप्रति ऐक्यवद्धता रहेको कुरा जानकारी गराउँदछौ ।’
माग पूरा नभए यसबाट उत्पन्न हुने सम्पूर्ण कुराको जिम्मेवार स्वयम् क्याम्पस प्रमुख तथा क्याम्पस प्रशासन हुनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ । ध्यानाकर्षण पत्रमा प्राध्यापक संघका कावा सभापति सरोज केसी, प्रजातन्त्रवादी प्राध्यापक संघका प्रेमबहादुर बुढा र नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष गोविन्द प्रसाद आचार्यलगायतले हस्ताक्षर गरेका छन् ।