© २०२३
सुनवल, ८ भदौ ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १४ को कार्यालय भित्रै सर्वसाधारण कुटिएका छन् । जग्गाको बिषयमा बिवाद हुँदा एक दम्पत्तीमाथि रगताम्य हुनेगरी कुटपिट भएको हो ।
जग्गा सम्बन्धी विवाद समाधानका लागि वडा अध्यक्ष सन्त बहादुर गाहासंग वडा कार्यालयमा छलफल भईरहेको समयमा स्थानीय राजबहादुर क्षेत्री र उनकी श्रीमती पार्वती क्षेत्रीमाथि कुटपिट भएको हो । सामान्य भनाभन पछि क्षेत्री दम्पत्तीमाथि वडा नम्बर १४ धर्मबस्ती बस्ने प्रेम बहादुर कामु र उनका दाजुभाई कृष्ण कामु, जिवन कामु र रितमान कामुको समूहले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
वडा अध्यक्ष गाहाका अनुसार बाटो निकासीका सम्बन्धमा भएको विवाद समाधानका लागि निवेदन परेको थियो, सोही निवेदनका आधारमा दुवै पक्षलाई छलफलका लागि बोलाईएको थियो । “तर विवाद सम्बन्धित जग्गाधनी नभएपछि समाधान हुने देखिएन, मैले जग्गाधनी आएपछि थप छलफल गरौँला भनेको थिए तर मेरै अगाडि एक्कासि हातपात भयो”– वडा अध्यक्ष गाहाले भन्नुभयो ।
कुरा नमिलेपछि दुवै पक्षबिच विवाद चर्किदा पार्वती क्षेत्रीलाई लक्षित गरेर अपशब्द बोलेपछि उनले दुई झापड हानेको र त्यसपछि कामु दाजुभाईले उनी सहित श्रीमानलाई समेत कुटपिट गरेको वडा अध्यक्ष गाहाले जानकारी दिए । कुटपिट पछि पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपनि आज शनिवार भएकाले दर्ता भएन् । भोलि घटनाबारे थप अनुसन्धान गरेर जाहेरी दर्ता गर्ने प्रहरी उपरिक्षक ज्ञानेन्द्र प्रसाद फुँयालले जानकारी दिए ।
कुटपिट पछि घाईते भएका राजबहादुरको बुटवलस्थित लुम्बिनी सिटि अस्पतालमा उपचार भईरहेको उनका मामा लक्ष्मण जंग हमालले बताए । हमालले कामु दाजुभाईले ज्यादती गरेको बताउँदै उनीहरु माथि कडा कारवाही हुनुपर्ने बताए । घाईते राजबहादुरको निधारमा चोट लागेको छ । जनप्रतिनिधिकै अगाडि गुण्डागर्दी शैलीमा आक्रमण गरेको र विगतमा
पनि उनीहरुबाट यस किसिमका घटना हुँदै आएकाले दोषीमाथि कडा कारवाही हुनुपर्ने पीडित परिवारको माग छ । परिवारजनले राजनैतिक शक्तिको आडमा उनीहरुलाई जोगाउने प्रयास भइरहेको भन्दै घाईतेको निशुल्क उपचार र दोषिमाथि कारवाही गर्न माग गरेका छन् । कुटपिट गर्ने कामु दाजुभाई नेपाली काग्रेसका सक्रिय कार्यकर्ता हुन् । घटनाको सन्दर्भमा वडा कार्यालयले आज एक विज्ञप्ती समेत जारी गर्दै घटनाको न्यायिक निरुपणको पक्षमा वडा कार्यालय रहेको जनाएको छ ।