© २०२३
बुटवल, ७ भदौ ।
चितवनस्थित मुग्लिन नारायणगढ सडकखण्डमा बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर पल्टिएको छ। शुक्रबार दिउँसो पौने २ बजे भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि ढुंगा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए।
अचानक बसमाथि ढुंगा खसेपछि चालक आत्तिँदा बस अनियन्त्रित भएर पल्टिएको हो।
बस दुर्घटनामा घाइते हुनेको संख्या २५ पुगेको डिएसपी रिजालले बताए। घाइतेको उद्धार गरी उपचारको लागि भरतपुरतर्फ पठाइएको प्रशासनले जनाएको छ। घाइतेलाई चितवनको विभिन्न अस्पतालमा उपचारको लागि पठाइएको छ। दुई जना गम्भीर रहेको डिएसपी रिजालले बताए।
बसमा क्षति पुगेको छ। बस घटनास्थलमै राखिएको हुँदा सडक केहीबेर अवरूद्ध भएको थियो। अहिले उक्त सडक खुलिसकेको छ।
जिल्ला प्रहरी कार्यालय चितवन, जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट प्रहरीको टोली खटिएको थियो। यसअघि पनि दुई वटा सवारीसाधनमा ढुंगा खसेको थियो। मानवीय क्षति भने भएको थिएन।