© २०२३
सुनवल, ०७ भदौ।
हुलाकी सडकको काममा चरम ढिलासुस्ती भएपछि पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । संघीय सरकारकै लगानीमा स्तरोन्नती भईरहेको सडकको काम वर्षाैं बित्दा समेत पुरा नभएपछि गाउँपालिकाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।
नारायणचोक त्रिवेणी खण्ड अन्तर्गतको गोपिगंज देखि बेलाटारी सम्म साढे ६ किलोमिटर क्षेत्रमा सडकको अवस्था निकै जिर्ण भएकाले यात्रामा कठिनाई भएको भन्दै गाउँपालिकाले प्रधानमन्त्रीलाई जानकारी पत्र पठाएको हो । कि संघिय सरकार अन्तर्गत हुलाकि राजमार्ग योजना कार्यालय मार्फत भईरहेको काम तत्कालै पुरा हुनुप¥यो होईन भने पालिकालाई जिम्मा दिए चार महिना भित्र सडक निर्माण पुरा गर्ने भन्दै प्रधानमन्त्रीलाई गाउँपालिकाले पत्राचार गरेको हो ।
सडक निकै जीर्ण बन्दा समेत मर्मत सम्भार र निर्माणमा ठेकेदारले कुनै चासो नदिएको भन्दै प्रधानमन्त्रीलाई पत्राचार गरिएको गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले बताए । यसअघि पटक पटक सरोकारवाला पक्ष संगको बैठकमा ठेकेदार र हुलाकि राजमार्ग योजना कार्यालयका प्रतिनिधिहरूले समयमै मर्मत सम्भारको काम गर्ने प्रतिवद्धता जनाएपनि वेवास्ता गर्दा सो क्षेत्रका स्थानीयले सास्ती खेप्न बाध्य भएका छन् । अध्यक्ष यादवले हुलाकी राजमार्ग योजना कार्यालयलाई तत्कालै काम सक्न निर्देशन दिन माग गरिएको बताउँदै बजेट पालिकालाई सिधै उपलब्ध गराए चार महिना भित्र काम सकेर देखाउने बताए ।
अब पनि सडक निर्माणको कामले गति नलिए जनप्रतिनिधि सहित स्थानिय अनसनमा बस्ने पनि गाँउपालिकाले प्रधानमन्त्रीलाई जानकारी गराएको छ । नवलपरासीमा तिन खण्डमा विभाजन गरेर भईरहेको हुलाकि सडकको काम लामो समय सम्म पनि पुरा हुन सकेको छैन् । नारायणचोक त्रिवेणी खण्डको त हाल सम्म आधा काम पनि पुरा भएको छैन् । २०७६ सालको मंसिरमा ठेक्का सम्झौता भएको नारायण चोकदेखि त्रिवेणी सम्मको १६ किलोमिटर सडक निर्माणको हाल सम्म ४२ प्रतिशत मात्र भौतिक प्रगति छ । बज्र महालक्ष्मि जेभिले उक्त सडक विस्तारको लागि ४९ करोडमा ठेक्का पाएको थियो । ठेकेदारलाई काम गर्न ताकेता गर्दे आएको र अहिले पनि नाला निर्माणको काम मौसमको अनुकुलता अनुसार भईरहेको हुलाकि राजमार्ग योजना कार्यालय कपिलवस्तुका ईन्जिनियर युवराज पाण्डेले जानकारी दिए ।
गत वर्ष थपिएको म्याद यहि वर्षको चैत्र महिनामा सकिदै छ । यो तालले उक्त अवधि सम्म आधा पनि काम पुरा नहुने देखिएको छ । साथै गाउँपालिका अध्यक्ष यादवले हुलाकि सडकमा भईरहेको काममा गुणस्तरीयताको पनि प्रश्न खडा भएको बताए । गत वर्ष भएको अनुगमनका क्रममा पनि हुलाकी सडकका विभिन्न स्थानमा गुणस्तर मापदण्ड अनुरूपको काम नभएको पाइएको थियो ।
हुलाकी राजमार्ग योजना कार्यालयका प्रमुख देखि कर्मचारीहरू नै ठेकेदारको बचाउमा बोल्ने गरेका छन् । ठेकेदारलाई दबाब बढाउनुको साटो भौतिक प्रगती अनुसारको रकम फटाफट भुक्तानी दिने गरेको पाईन्छ । जिल्लामा अन्य दुई खण्डको हुलाकि सडकको अवस्था पनि उस्तै छ । सदरमुकाम परासी देखि नारायणचोक जोड्ने साढे १२ किलोमिटर सडक ८ वर्ष हुदा समेत अझै पुरा भएको छैन् । ९ किलोमिटर लामो प्रतापपुर कठहवा जोड्ने सडक विस्तारमा पनि उस्तै ढिलासुस्ती छ । सडकको जिर्णअवस्थाले हलाकि सडकमा यात्रा गर्न सकिने अवस्था छैन् । हिलो र खाल्डाखुल्डीका कारण सवारी दुर्घटना पनि वृद्धि भएको छ ।