© २०२३
लमही,०३ भाद्र ।
देउखुरीको राजपुर गाउँपालिका–७, मावि सिक्टाका पदच्युत प्रधानाध्यापक विष्णु खत्रिलाई राजपुर गाउँपालिकाले २४ घण्टे स्पष्टिकरण सोधेको छ । खत्रीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख लगायतलाई गालीगलौज गरेपछि गाउँपालिकाले यो कदम चालेको हो ।
गाउँपालिकाले खत्रिलाई ‘शिक्षकजस्तो मर्यादित पदमा रहेका व्यक्तिले यस्तो गतिविधि कुन ऐनकानुनमा आधारित भएर गरे ?’ भनी प्रश्न गर्दै २४ घण्टा भित्र लिखित स्पष्टिकरण पेश गर्न भनेको छ । खत्रीले पदभार हस्तान्तरणका क्रममा निमित्त प्रधानाध्यापकलाई कुर्सीबाट लतार्ने लगायतका अभद्र व्यवहार गरेको आरोप छ ।
यसैगरी, राजपुर गाउँपालिकामा सिक्टा माध्यमिक विद्यालयको नयाँ प्रअ नियुक्ति सम्बन्धी विवादले राजनीतिक मोड लिएको छ । खत्रीले पालिका अध्यक्ष शरद बुढाथोकीले बरियतामा पाँचौं स्थानमा रहेका भरत बस्नेतलाई शिक्षा ऐनविपरीत प्रधानाध्यापकमा नियुक्त गरेपछि आपत्ति जनाएका छन् । खत्रीको यो आपत्तिपछि नेपाल शिक्षक संघले पनि अध्यक्षको निर्णयप्रति असहमति जनाएको छ । नेकपा माओवादी केन्द्र राजपुरले समेत पालिका अध्यक्षले शिक्षा समिति र कार्यपालिकामा छलफल नगरी ठाडो आदेशमार्फत नियुक्ति गर्दा राजनीति हस्तक्षेप भएको आरोप लगाएको छ । सोही कारणले विवाद चुलिएको र कानुनी उपचार खोज्ने चेतावनी दिएका छन् ।
विद्यालयका प्रअ खत्रीले स्रोत साधन र जनशक्तिको कमीले विद्यालयको नतिजा खराब भएको बताउँदै, विद्यालय व्यवस्थापन समितिको अस्तित्व हुँदाहुँदै पालिका अध्यक्ष बुढाथोकीले राजनीतिक हस्तक्षेप गरेको आरोप लगाएका छन् ।