© २०२३
बुटवल ।
रोटरी ई—क्लब अफ मेडिकोफ्युजन हाईब्रीड नेपाल र लियो क्लव अफ भलबारीको संयुक्त आयोजनामा बुटवलको नहरपूर माविमा मानसिक स्वास्थ्य एवं लागुऔषध न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययनरत दुई सय जना विद्यार्थीको सहभागिता रहेको थियो ।
लियो क्लवकी अध्यक्ष सुमना केसीको अध्यक्षमा भएको कार्यक्रममा रोटरी ई—क्लब अफ मेडिकोफ्युजन हाईब्रीड नेपालका अध्यक्ष एवं वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ रोटरीयन डा. विक्रम काफ्ले र मनोविद् यशोदा बगालेले सहजीकरण गरेका थिए ।
सो क्रममा डा. काफ्लेले लागुऔषध सम्बन्धी दुव्र्यसनको अवस्थाको बारेमा जानकारी गराउँदै बालबालिका, युवा तथा किशोरकिशोरीहरु यसमा फस्नुको कारण र बच्ने उपायको बारेमा स्पष्ट पारे । यस्तै मनोविद् यशोदा बगालेले बालबालिकामा देखिने मनोसामाजिक समस्याको बारेमा जानकारी गराउँदै त्यसको समाधानको उपायको बारेमा प्रकाश पारिन् ।
लियो क्लवकी अध्यक्ष केसीले सचेतना कार्यक्रमबाट धेरै विद्यार्थीहरु लाभान्वित भएको बताउँदै यस्ता कार्यक्रम अन्य विद्यालयमा पनि गरिने बताइन् ।
कार्यक्रममा विद्यालयको कोअर्डिनेटरले विद्यार्थीमा चेतना जगाउने कार्यक्रमहरु निरन्तर रुपमा गर्न क्लवलाई आग्रह गरे । रोटरी ई—क्लब अफ मेडिकोफ्युजन हाईब्रीड नेपालले विभिन्न विद्यालयहरुमा मानसिक स्वास्थ्य एवं लागुऔषध न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको छ ।