© २०२३
बुटवल, १७ साउन
रुपन्देहीको तिलोत्तमा ४ स्थित ओम अस्पतालमा प्रसुती गराउन गएकी एक महिलाको मृत्यु भएको छ । मृतकका आफन्तले अस्पतालको लापरबाहीले मृत्यु भएको आरोप लगाएका छन् । मणिग्रामस्थित शान्ति नमूना माविमा अध्यापनरत सिर्जना पौडेलको अप्रेशनबाट बच्चा जन्माइसकेको केही घण्टामा मृत्यु भएको हो ।
उनलाई सुरुमा सुत्केरी गराउन तिलोत्तमा–४ ड्राइभरटोलमा रहेको ओम अस्पतालमा बुधबार साँंझ लगिएको थियो । त्यहाँं सर्जरी गरेर उनले साढे आठ बजे छोरी जन्माएकी थिइन् । आफन्तका अनुसार अपरेशन गरेर होसमा आइ उनी दिउँसो एक बजेसम्म पनि छोरीलाई हेरेर प्रसन्न मुद्रामा थिइन्् ।
आफन्त गंगाधर भण्डारीका अनुसार साँंझ तीन बजेपछि चिकित्सकहरु हडवडाएको देखियो । त्यसपछि उनँंलाई आईसियूमा राख्नुपर्ने भन्ने कुरा भयो । तर सो अस्पतालमा आइसियू थिएन । “शल्यक्रिया हुने अस्पतालमा आइसियूसम्म नहुनु दुर्भाग्यपूर्ण देखियो”–पीडितका दाजु पर्ने गंगाधरले भने, “त्यसपछि त्यहाँंबाट रिफर गरेर लुम्विनी प्रादेशिक अस्पतालमा लगियो ।”
त्यहाँं लगेर रगत चेकजाँंच गर्दा रगतमा खराबी देखियो । अपरेशन गर्नु अगाडिसम्म ठिक भएको उनको रगतमा संक्रमण देखियो । उनलाई सेतो रगतको आवश्यकता पर्यो । यसैका लागि बुटवल रक्तसञ्चार केन्द्रमा पुगेर खोजियो । तर त्यहाँ रगतलाई सेतो बनाउने मेशिन नचलेको रहेछ । त्यसपछि फेरि रगतलाई ह्वाइट रगत बनाउन भैरहवा मेडिकल कलेज लगियो ।
यी सबै काम गर्दा राति १२ बजिसकेको थियो । जतिबेला सिर्जनाको निधन भैसकेको थियो ।
दिउँसोसम्म केही नभएकी सुत्केरीको तीन बजेबाट पिसाव रोकिएको उपचारमा संलग्न प्रसुती रोग विशेषज्ञ डा. शर्मिला शर्माले बुटवल टुडेसँगको कुराकानीमा बताइन् । “पिसाव रोकिएपछि म लगायत फिजिसियन र अल्ट्रासाउण्ड गर्ने चिकित्सकहरु समेत बोलाएर हेरियो, तर शल्यक्रियाका क्रममा कुनै खरावी नभै अन्य कुनै कारणले पिसाव रोकिएको पाइयो, त्यसपछि बिरामीको प्लेटलेट्स पनि घट्दै गयो र ३५ हजारसम्म झर्यो”–डा. शर्माले भनिन्–“यो एक हजारमा एक जनालाई हुने संभावना रहन्छ ।”
अकस्मात स्वास्थ्य जटिल भएको र त्यहाँदेखि लुम्विनी प्रादेशिक अस्पतालमा लगेको केही घण्टाभित्रै अकस्मात मृत्यु भएको भन्दै आफन्तहरुले दोषीमाथि कारबाहीको माग गरेका छन् । आइसियु नै नभएको अस्पतालमा शल्यक्रिया गर्न दिने व्यवस्था, ब्लड बैङ्कमा सेतो प्लेटलेट्स बनाउने मेशिन नै नचलेको अवस्थाले अकालमा ज्यान गुमेको भन्दै आफन्तले दुःख व्यक्त गरेका छन् ।
मृत्यु भएकी सृजनाको यो दोश्रो सन्तान हो । उनको यसअघिकी ६ वर्षीया छोरी छिन् । तर उनी पनि अटिजमकी विरामी हुन् । यसले ती दुवै छोरीको भविष्य अन्धकार भएको छ । दुवैको पालनपोषण कसरी र कसले गरिदेला भन्ने चिन्ता छाएको आफन्तले बताएका छन् ।