© २०२३
बुटवल, १ कात्तिक ।
फुटसल खेल र खेलाडीलाई प्लटफर्म दिने उदेश्यका साथ रुपन्देहीमा आयोजना भएको प्रथम पार्टीबिस्ट क्लब फुटसल प्रतियोगिताको उपाधि मोनालिसा फुटसल क्लबले चुमेको छ । उपाधिसंगै मोनालिसाले नगद ३० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ ।
पार्टी बिस्ट क्लबको आयोजनामा योगीकुटीस्थित लुम्बिनी फुटसल एरिनामा सोमबार भएको फाईनल खेलमा युनिक फुटसल क्लबलाई पेनाल्टी शुट आउटमा ५–४ गोल अन्तरले पराजित गर्दै मोनालिसाले उपाधि चुमेको हो । निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा धकेलिएको थियो ।
उपविजेता युनिकले भने नगद २० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएको छ । प्रतियोगितामा युनिक फुटसल क्लबका रुपा मगर बेष्ट प्लेयर, मोनालिसा फुटसल क्लबका अमर पुन उत्कृष्ट गोलकिपर तथा प्रतियोगितामा ६ गोल गरेका लाफा समुहका प्रिन्स गुरुङ हाईस्कोररको उपाधिसंगै कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएका थिए । रुपन्देही जिल्लामा पछिल्लोसमय फुटसलको क्रेज बढ्दै गएको मोनालिसा फुटसल एरिनाका संचालक सुदिप मगर बताउँछन् । युवा खेलाडीहरुलाई एउटा अवसरसंगै प्लटफर्मका रुपमा प्रतियोगिता भएको उपाधि जितेपछि उनले बुटवल टुडे अनलाईनसंग बताए ।
एक समारोहका बीच विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार बितरण गरिएको छ । असोज ३१ र कात्तिक १ गते दुईसम्म संचालन भएको प्रतियोगितामा २० समूहले भाग लिएका थिए ।