© २०२३
रोल्पा, ३० असार ।
प्यूठान घर भई रोल्पालाई कर्मथलो वनाएका एक श्रष्टाले कला तथा साहित्यको उन्नयन गर्ने भन्दै अक्षयकोष स्थापना गरेका छन् । ललित साहित्य परिषद रोल्पाले आयोजना गरेको २११ औ भानु जयन्तीको अवसरमा प्यूठानका देवेन्द्रकुमार रिजालले एकाउन्न हजार रासीको उक्त अक्षय कोष स्थापना गरेका हुन् ।
बेगममाला कला तथा साहित्य पुरस्कार नामाकरण गरिएको उक्त अक्षयकोषको रकम ललित साहित्य परिषद रोल्पाको अध्यक्ष केवी विरहीलाई हस्तान्तरण गरिएको हो । अक्षयकोष हस्तान्तरण कार्यक्रममा वोल्दै अक्षयकोषदाता रिजालले आफुले करिव २ दशक अघि रोल्पामा रहेर १ दशक वढी नेपाली भाषा र साहित्यको पठनपाठन गरेको स्मरण गर्दै रोल्पाको साहित्यलाई थप प्रवद्र्धन गर्न अक्षयकोष स्थापना गरेको वताए । “अक्षयकोषले रोल्पा जिल्लाको कला साहित्य उन्नयनमा सहयोग गर्ने अपेक्षा गरेको छु”– रिजालले भने ।
अक्षयकोषदाता रिजालले १० वर्ष भन्दा लामो समय रोल्पा सदरमुकाम लिवाङमा रहेर शिक्षण गरेका थिए । जन्म प्यूठान भएपनि केही समय रोल्पामा कर्म गरेका रिजाल हाल दाङ वस्दै आएका छन् ।
अक्षयकोष संचालन कार्यविधि तयार गरी आगामी वर्षदेखी कला र साहित्य क्षेत्रमा उल्लेख्य योगदान गर्ने श्रष्टालाई उक्त पुरस्कार प्रदान गरिने ललित साहित्य परिषद रोल्पाको अध्यक्ष केवि विरहीको भनाई छ ।
साथै ललित साहित्य परिषद रोल्पाले २११ औं भानु जयन्तीको अवसरमा २ जना श्रष्टाहरुलाई पुरस्कृत समेत गरेको छ । पुरस्कृत हुनेहरुमा रोल्पा नगरपालिका ४ लिवाङका माधवप्रसाद आचार्य र थवाङ गाउँपालिका ३ मिरुलका मालवहादुर वुढामगर (महेश आरोही) रहेका छन् ।
आचार्यले रोल्पा सुनछहरी गाउँपालिका ७ जेल्वाङका क्षितिज मगरले स्थापना गरेको दलसुर स्मृती कथा पुरस्कार प्राप्त गरेका थिए । महेश आरोहीलाई सीमा वारी सीमा पारी साहित्य पुरस्कार प्रदान गरिएको थियो ।
आचार्यको रोल्पामा धुरु धुरु रोएर कथा संग्रहलाई उक्त पुरस्कार प्रदान गरिएको थियो । २०६२÷०६३ सालको आन्दोलनमा गिरप्तार परि १ महिनाको हिरासत वसाईका क्रममा आफुले उक्त कथा संग्रह तयार गरेको पुस्कृत व्यक्तित्व आचार्यले वताए । पछिल्लो राजनैतिक परिवर्तनमा कला साहित्यको पनि उत्तिकै योगदान रहेको वताउदै समाज रुपमान्तरणमा साहित्यले थप दिशा निर्देश गर्नु पर्ने आचार्यको भनाई छ । आचार्यको व्यक्तित्व र कृतित्वको वारेमा जलजला वहुमुखी क्याम्पस रोल्पाका उपप्रधाध्यापक एवम साहित्यकार गोकर्णप्रसाद पुनले प्रकाश पारेका थिए ।
महेश ओरोहीको मगर खामभाषामा लेखिएको जिन्दगीलाई फर्केर हेर्दा कृतिलाई सो पुरस्कार प्रदान गरिएको थियो । नेपाली भाषा साहित्यका साथै अन्य भाषा साहित्यको समेत उन्नयन गर्न यस पटक मगर खाम भाषाको कृतिलाई पुरस्कृत गरेको आयोजकको भनाई छ ।
रोल्पा घर भई परदेशीएका र रोल्पामै रहेर साहित्य साधनामा लागेका विभिन्न १६ जना साहित्यकारहरुद्धारा स्थापित सीमावारी सीमापारी पुरस्कार आरोहीलाई प्रदान गरिएको थियोे । माओवादी सशस्त्र द्धन्दमा सहभागी भएका आरोहीले द्वन्द्वदेखि हालसम्मको अवस्थालाई चित्रण गरेर कृति तयार गरेको बताए । महेश आरोहीको व्यक्तित्व र कृतित्वको वारे साहित्यकार मानसिंह श्रीसले प्रकाश पारेका थिए ।