Butwal Today
मुख्य समाचार

के सत्ता गठबन्धनमा खटपट भएको हो ?

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले यसबारे आफूलाई जानकारी नभएको बताए
१ कार्तिक २०७९, मंगलवार
अ+
अ-

काठमाडौं, १ कात्तिक ।

सत्तारुढ गठबन्धनमा रहेका पाँच दलमध्ये तीन राजनीतिक दलले मंसिर ४ को चुनावपछि पनि गठबन्धन सरकार बनाउने साझा प्रतिवद्धता जनाएका छन् । पाँचदलीय गठबन्धनमा तीन दलको मात्र साझा प्रतिवद्धता आएपछि गठबन्धनभित्र खटपट सुरु भएको आशंका गरिएको छ ।

मंगलबार सार्वजनिक प्रतिवद्धतामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको मात्रै हस्ताक्षर छ । तीन दलले जारी गरेको प्रतिवद्धतामा चुनावपछि पनि गठबन्धन सरकार बनाउने बताएका छन् । गठबन्धनमा आवद्ध रहेका लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरुले भने यसमा हस्ताक्षर गरेका छैनन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धनमा रहेका पाँच दलले देशभर सिट बाँडफाँट गरेर साझा उम्मेदवार खडा गरेका छन् । तर चुनावपछि सरकार बनाउने कुरामा विवाद भएपछि तीन दलले मात्रै हस्ताक्षर गरेको नेकपा माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

गठबन्धनको तर्फबाट जारी साझा प्रतिवद्धतामा कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मात्र हस्ताक्षर गरेका हुन् ।

संविधानको मर्म विपरीत गरिएको प्रतिनिधि सभाको असंवैधानिक विघटन लगायत तत्कालीन सरकार प्रमुखको स्वेच्छाचारी कदमलाई परास्त गर्नु र संविधानको रक्षा गर्नु गठबन्धनको उद्देश्य भएको उनीहरुले बताएका छन् ।

आम निर्वाचनलाई भयरहित र निष्पक्ष रुपमा सम्पन्न गर्ने उनीहरुको प्रतिवद्धता छ । साथै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मूल दस्तावेजमाथि आक्रमणको खतरा जीवतै रहेको भन्दै उनीहरुले संविधान माथिको खतरा रहेसम्म गठबन्धनको औचित्य कायमै रहने बताएका छन् ।

साझा प्रतिवद्धतामा हस्ताक्षर नगरेकोबारे राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले यसबारे आफूलाई जानकारी नभएको बताए । आफू चुनावी अभियानमा बागलुङमा रहेकाले कहाँ के प्रतिवद्धता जारी भयो, त्यसबारे थाहा नभएको बताए ।