© २०२३
यो हामीलाई भविष्यमा हाम्रा नातिनातिनाले सोध्ने प्रश्न हो । अहिले वश्व खुसी कहाँ पाइन्छ भनेर धुद्दाइरहेको छ । अब मानव विकास सूचकाङ्क खुसीको स्तरमा खोज्ने चलन आइसक्यो । तर हामी भने कसैको दुःखमा साप्रा बजाएर रमाउने संस्कारबाट मुक्त हुन सकेका छैनौँ । सन्दर्भ हिँजोको एस्इइ परीक्षाफल प्रकाशनको हो । परीक्षाफल प्रकाशनपछि सञ्चार जगत् सन्सनायो । शिक्षाका विश्लेषकले कहीँ अनुहार देखाएर कहीँ अनुहार नदेखाएर, कहीँ लेखेर अर्ती उपदेश पोख्न लागे । मानौँ यो जीवनमा आजै एउटा अनौठो घटना घटिरहेको छ र यसका बारेमा म नै जानिफकार हुँ भने जसरी ।
नेपालभरि झन्डै अठचालीस प्रतिशत सफल भए रे । झन्डै ५२ प्रतिशत फेल भए रे र यी दुईटा झन्डैका बीचमा रहेको झन्डै एक प्रतिशतको परीक्षाफल रोकिएको रे । यही हो मैले बजार हल्ला सुनेको । मलाई यति भए पुग्यो । म मान्छेलाई सामानलाई, कुनै कामलाई झैँ प्रतिशतमा राख्न हुँदैन भन्ने मान्छेलाई अरू चाहिँदा पनि चाहिएन । मुहार पुस्तिका अर्थात् फेसबुक बधाईका पुष्पहारले रँगियो । तर म नकारात्मक भएर त होला नि त्यो बधाईका पुष्पहारमा ती ५२ प्रतिशत भनिएका नानी बाबुका आँसुका धारा देखेँ । वास्तवमा यो परीक्षाफल प्रकाशनको दिन एक उदास दिन अझ भनौँ भने शोक दिवस जस्तै लाग्यो । जहाँ बहुमत रोइरहेको छ त्यहाँ खुसी कसरी टिकाउन सकिएला !
ए मनुवा हो ! मान्छे आफैमा पूर्ण हो । आफैमा शतप्रतिशत हो । हाम्रा ऋषिमुनिहरूले भन्ने गरेका पूर्णब्रह्म बोकेको व्यक्ति कसरी अंशमा प्रतिशतमा नापिन्छ जोखिन्छ र ? व्यवहार पनि हेरौँ न । मेरा विद्यालयले ९० प्रतिशत ल्यायो तर मेरो सन्तान बाँकी दश प्रतिशतमा प¥यो भने म मेरा विद्यालयले ९० प्रतिशत ल्यायो भनेर हिँ हिँ गर्दै कसरी हिँड्न सकुँला र ? आज असफल भनी घोषणा भएका सन्तानका घरमा मावल फुपू फुपाजुका घर दिदी भिनाजुका घर सानीमा ठूलीआँका घरसम्म त्यो मलीन खबर कुँदेको कुँदै छ ।
म सञ्चारकर्मीलाई भन्ने गरेको छु तपाईँहरू हाम्रा देवर्षि नारदका पछुवा हो अर्थात् फलोअर हो । देवर्षि नारद सधै दुःखमा परेका अप्ठ्यारोमा परेकासित जान्थे र उद्धार गर्थे । मूर्खसित जान्थे र ज्ञानी बनाउँथे । प्रख्यात डाँकू रत्नाकरलाई आदिकवि वाल्मीकि बनाए नारदले । प्रह्लादकी आमा कयादु अपहरणमा पर्दा अपहरणकारीसित पैँठेजोरी खेलेर फुत्काएर आफैले पाले । तर आजका उनैका फलोअर कता पीडा छ भनेर हेर्न सकिरहेको कम देखिन्छ ।
अझै पनि बालबालिकालाई कसरी फेल भइन्छ भन्ने सम्म थाहा छैन । कम्तिमा यो थाहा पाउने अवस्थासम्म त हामी सिकाउँ । ता कि उनीहरू पहिलैदेखि म त्यो सीमाभित्र पर्न सक्तिनँ भन्ने थाहा होस् । तर यत्ति सिकाउन सके त व्यक्ति आफू शतप्रतिशत हुने काइदा पनि थाहा पाइहाल्ने अवस्थामा पुगिहाल्थे । हामी बुद्धभूमिका मान्छे । बुद्धको दुःख निवारणका सूत्र घोकेका तर व्यवहारमा उतार्न नसकेका मान्छे । बुद्धका ४ आर्य सत्य, दःख छ, दुःखको कारण छ, कारणको निवारणको उपाय पनि छ र यसबाट सर्वथा मुक्त हुन सकिन्छ । सबै सकारात्मक कुरा !
हामी शनि सङ्कटाको दोषबाट बच्न शनिबार पीपलका बोटमा पानी हाल्दैछौँ । बोटको फेँदमा पानी हाल्छौँ । यो संस्कार सिक्नु छ । यसलाई शिक्षा क्षेत्रमा लागू गर्नुछ । भनिन्छ, प्रारम्भिक कक्षा अर्थात् कक्षा १ देखि ३ सम्म पढ्नका लागि सिक्ने उमेर हो बेला हो र सोभन्दा माथि सिक्नका लागि पढ्ने बेला हो । हामी यहीँ निर चुकिरहेका छौँ । पढ्नका लागि सिक्ने बेलामा राम्ररी पढ्न सिकाएनौँ । तर दोष दियौँ फेरि निरन्तर मूल्याङ्कन पद्धतिलाई र उदार कक्षोन्नति प्रणालीलाई । अनि बालबालिकाहरू पद्धतिका नाममा हाम्रो अध्खलो सोचका कारण पीडामा परे । जसले प्रारम्भिक कक्षामा शुद्ध र छिटो पढ्न सक्यो ऊ त कहिल्यै असफल हुनै सक्तैन । यो कुरा न हामीले बुझ्न सक्यौँ न बुझाउन सक्यौँ । यो कक्षा एकदेखि तीनको पीपलको फेँदमा पानी हाल्न सिक्यौँ भने दशमा मात्रै हैन कुनै कक्षामा पनि असफल हुनै सक्तैनन् ।
भैसी गाई बच्चो वा टेकोमा पुगेर तुहिन्छ र ? कहिल्यै पनि तुहिन्न । तर आज मेरो सन्तान टुङ्गोमा पुग्यो भनेर अभिभावक ठूलो आस गरी बस्दा निराश हुन पुगेका छन् । पाका पुरानाहरू भन्ने गर्नुहुन्थ्यो स्वर्गको बात र गर्भको बात जानिन्न भनेर । तर अहिले त्यो छैन । मौसमको भविष्यवाणी पनि मिल्दै छ र गर्भमा के छ भन्ने पनि थाहा पाइने अवस्था छ । तर हामीले बालबालिकालाई कति पढ्नुपर्छ र कति लेखेपछि पास भइन्छ भन्नेसम्म सिकाउन सकिरहेका छैनौँ । आजको जमानामा यो निकै लज्जाजनक कुरा हो ।
मैले आज अक्षर लेख्न सकिनँ । किनकि अक्षर ! त्यो अविनाशी शब्दलाई यो दुःखको भुँमरीमा कसरी राखूँ ? त्यसैले मैले केवल केही बेफ्वाँकका शब्दहरूको थुप्रो लेखेर कागज रङ्गइरहेको छु । मेरा भनाइको कुनै अर्थ छैन । मेरा लागि बजेट भाषणमा तलब बढाउने तलब बढाउने घोषणा गर्नु र एसइइ परीक्षाको परीक्षाफलको घोषणा गर्नु उस्तै हो । हरेक दिन शिक्षाका सकारात्मक समाचार मिडियाकर्मीले प्राथमिकतामा राखे शिक्षा क्षेत्रमा लागे सकारात्मक परिवर्तन हुन्छ । नत्र आगो सल्केपछि कुवा खन्ने कुराले कहिल्यै सुधार हुने छाँट देखिन्न । हामीले कहिले होला हर्क हर्कदिवस मनाउने ? लौ मिडियाकर्मीज्यूहरूकै मर्जी ।