© २०२३
तिलोत्तमा, १८ असार ।
नेकपा एमालेका पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले मुलुकलाई स्थिरता दिनका लागि काँग्रेस एमालेबिच सहकार्य भएको बताएका छन् ।
नेकपा एमाले तिलोत्तमा ३ नम्बर वडा कमिटीले मंगलबार पार्टीको जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष एवं आफ्नो शाखाका जिल्ला सदस्यहरुको सम्मानका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
साना दलका नाममा जे कुरामा पनि बार्गेनिङ गर्ने र अंकगणितको जोड घटाउले मुलुक नै अन्त्यहीन अस्थिरताको दिशामा जाने खतरा बढेपछि एमालेले काँग्रेससँग सहकार्यको हात बढाएको न्यौपानेले बताए ।
उनले सत्ताको नेतृत्व गरिरहेको माओवादीले काँग्रेससँग गोप्य छलफल अघि बढाएको सूचना पाएपछि आफ्नो दलले मुलुकलाई अस्थिर बनाइ राख्नु भन्दा स्थिरताको दिशामा लैजानुपर्छ भनेर काँग्रेससँग सत्ता समिकरण गरेको बताए ।
कार्यक्रममा बोल्दै एमाले जिल्ला कमिटी अध्यक्ष यज्ञ गैरेले पार्टीको जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भैसकेको अवस्थामा अव पार्टीका हरेक गतिविधिमा सक्रिय भएर लाग्न आग्रह गरे । अवसर पाउँदा सक्रिय भएजस्तो देखिने तर काम गर्नुपर्दा निष्कृय बस्ने परिपाटीको अन्त्य नभएसम्म पार्टी बलियो र सुद्धृढ हुन नसक्ने पनि उनले बताए ।
कार्यक्रममा एमाले नेताहरु खुमाकान्त पौडेल, नेत्रलाल वन, तोलाकान्त भण्डारी, दिपक भुसाललगायतले आ–आफ्नो धारणा राखेका थिए ।
त्यस अवसरमा एमाले रुपन्देहीका नवनिर्वाचित अध्यक्ष यज्ञ गैरे तथा तिलोत्तमा ३ नम्बर वडाबाट निर्वाचित जिल्ला सदस्यहरु दिनेश फुल्लेल, झविन्द्र भण्डारी, मेघदेव पन्त, तेज गुरुङ र अनेमसंघ रुपन्देहीकी कार्यालय सचिव सरस्वती बराललाई सम्मान गरिएको थियो ।